हेटौँडा सडक विस्तारका विषयमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण

हेटौँडा सडक विस्तारका विषयमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण


बागमती ।

मकवानपुरका जनप्रतिनिधिहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् ।

संघीय सांसद, प्रदेशसभा सदस्य, पूर्वसांसद र संविधानसभा सदस्यलगायतको प्रतिनिधिमण्डलले आज विहान प्रधानमन्त्री प्रचण्डलाई भेट गरी हेटौँडामा सडक विस्तारका विषयमा ध्यानाकर्षण गराएको प्रतिनिधिसभा सदस्य महेशकुमार बर्तौलाले जानकारी दिए ।

उनले सडक विस्तार गर्ने सरकारको कामलाई जिल्लावासीले बाधा व्यवधान नगर्ने तर, सडक विस्तारकै कारण हेटौँडाको एचआईडी, मुख्यसडक, राप्तीसडकमा पर्ने घरधनी र व्यवसायीलाई मुआब्जा दिएरमात्र भत्काउनका लागि माग गरिएको जानकारी दिए ।

हेटौँडाको रातोमाटेदेखि राप्ती पुलसम्मको राजमार्ग विस्तार गर्दा यहाँ पर्ने घरधनीहरुलाई मुआब्जा दिनुपर्ने घरधनीहरुको माग छ ।

प्रधानमन्त्रीसँगको भेटमा उक्त प्रतिनिधिमण्डलले सडक बिस्तारका क्रममा प्रभावित घरहरुको लगत संकलन गर्नुपर्ने र त्यसपछि मुआब्जा दिएरमात्र भत्काउनका लागि ध्यानाकर्षण गराएको हो ।

प्रतिनिधिमण्डलमा सङ्घीय संसद्मा मकवानपुरबाट प्रतिनिधित्व गर्ने महेशकुमार बर्तौला, दीपकबहादुर सिंह, विन्दवासिनी कंशाकार, राष्ट्रियसभाका सदस्य रामचन्द्र राई, पूर्वसांसदहरु कृष्णप्रसाद दाहाल, अनन्त पौडेल, प्रदेशसभाका सदस्य लक्ष्मी श्रेष्ठ, मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णप्रसाद गुप्ता अग्रवाललगायत थिए ।