हेटौँडा – बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा दलको नेताबाट पदमुक्त भएका छन्। मंगलबार दलको कार्यालयमा भएको मत विभाजनमार्फत दर्ता गरिएको अविश्वास प्रस्ताव पारित भएपछि उनी पदमुक्त भएका हुन्।
दलको नेताबाट हटेपछि मुख्यमन्त्री पदबाट समेत राजीनामा दिने अपेक्षा गरिएको भए पनि लामाले पद नछोड्ने अडान लिएका छन्। नेपाली कांग्रेस बागमती संसदीय दलको विधानअनुसार गठबन्धनको सरकार बनेको अवस्थामा दलको नेता मात्र नभई कुनै पनि सांसद मुख्यमन्त्री बन्न सक्ने व्यवस्था रहेको भन्दै लामाले आफ्नो पद सुरक्षित रहेको दाबी गरेका छन्।
अविश्वास प्रस्तावको नेतृत्व गरेका कांग्रेस बागमती प्रदेश समितिका सभापति इन्द्रबहादुर बानियाँ समूहले भने लामाले तत्काल मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्ने आग्रह गरेका छन्। ‘दलको नेताबाट हटेपछि नैतिकता र राजनीतिक जिम्मेवारीबोधका आधारमा उहाँले मुख्यमन्त्री पद पनि खाली गर्नुपर्छ,’ बानियाँले भने।
यसअघि २०७९ पुस १३ गते भएको दलको नेताको निर्वाचनमा बानियाँ १६ मतमा पराजित भई लामा २१ मतसहित विजयी भएका थिए। बानियाँले दोस्रो कार्यकालमा मुख्यमन्त्री बन्ने आकांक्षा पूरा गर्न दलभित्रै अविश्वास प्रस्ताव ल्याएर लामालाई हटाउने रणनीति अपनाएको बताइन्छ।
दलभित्रै मत विभाजन भएपछि लामाको पक्षमा जम्मा १५ मत मात्र देखिए पनि उनले पुनः दलको नेताको निर्वाचनमा भाग लिने संकेत दिएका छन्। ‘कसैले चुनावमै भाग नलिने भन्ने छैन, पार्टीको हित र संसदीय मर्यादा कायम गर्ने व्यक्तिलाई अघि सारिनेछ,’ लामा भनाइ छ।
नेपालको संविधानको धारा १८८ अनुसार मुख्यमन्त्री नियुक्त भएको दुई वर्षसम्म अविश्वासको प्रस्ताव पेस गर्न नपाइने प्रावधान छ। तर, संसदीय दलको नेतृत्व परिवर्तनपछि गठबन्धनमा बनेको सरकारको नेतृत्वबारे कांग्रेसभित्र विवाद थप चर्किँदै गएको छ।
विश्लेषकहरूका अनुसार लामाको अडानले बागमतीमा कांग्रेसभित्र लामो समयसम्म राजनीतिक अस्थिरता र सत्ता संघर्ष बढ्ने सम्भावना देखिएको छ।

प्रतिक्रिया