काठमाडौं ।
सहकारी संस्थाको रकम अपचलनको आरोप खेपिरहेका व्यापारी सुधीर बस्नेतको कोहिनुर हिल्स हाउजिङ लिलाम हुने भएको छ ।
कर्मचारी सञ्चय कोषले बिहीबार ललितपुरको इमाडोलमा रहेको निर्माणाधीन हाउजिङको जग्गा र भवन लिलाम गर्न ऋण दाता सार्वजनिक सूचना आह्वान गरेको हो ।
१० रोपनी ९ आना २ पैसा जग्गा र उक्त जग्गामा बनेको कोहिनुर हिल्स हाउजिङका भवनहरुको लिलामी प्रक्रिया अघि बढाइएको कोषको सूचनामा उल्लेख छ ।
ऋण र त्यसको ब्याजसहितको भुक्तानी समयमै नतिरिएको कोषले जनाएको छ । लिलामी गरेर ऋण असुल गर्नुपर्ने भन्दै कोषले लिलामी सकार्न ३५ दिनको समय अवधि तोकेको छ ।
कोषलाई बस्नेतले हाउजिङका लागि लिएको २३ करोड र त्यसको सावाँ तथा ब्याजसहित करिब १ अर्ब रुपैयाँ तिर्नुपर्ने दायित्व छ ।
बोलपत्र फाराम सञ्चय कोषको कर्जा लगानी तथा ट्रेजरी व्यवस्थापन विभाग पुल्चोकबाट भर्न सकिने सञ्चय कोषले जनाएको छ ।
एक हजार रुपैयाँ फिर्ता नहुने गरी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको पुल्चोकमा रहेको चल्ती खातामा जम्मा गरेर सूचना सार्वजनिक भएको ३५ औं दिनको १ बजेभित्र खरिदका लागि प्रस्ताव गर्न सकिने कोषले जनाएको छ ।
प्रतिक्रिया