पोखरा ।
नेपालको प्रमुख पर्यटकीय नगर पोखरालाई हाइमास्ट र स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट)बाट झिलिमिली बनाउन सुरु भएको छ ।
‘उज्यालो पोखरा अभियानअन्तर्गत’ पोखराका मुख्य–मुख्य चोकहरुमा जडान गरिएका हाइमास्ट र सडकमा बत्तीको उद्घाटन गरिएको छ ।
पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार पोखराको नयाँ सडकमा गरिएको कार्यक्रममार्फत जडान गरिएका हाइमास्ट र सडक बत्तीको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
कार्यक्रममा नगर प्रमुख आचार्यले सडक बत्तीले पोखराको सौन्दर्यलाई अभिबृद्धि गर्नुका साथै सडकको यात्रालाई सुरक्षित बनाएको बताए । उनले बाँकी स्थानमा सडक बत्ती जडानका लागि दोस्रो चरणको कार्यक्रम सुरु गरिसकिएको उल्लेख गरे ।
पोखरा महानगरपालिका र प्राधिकरणको साझेदारीमा पोखराका २३ वटा मुख्य चोकहरुमा १६ मिटर अग्लो पोलमा चारै दिशामा उज्यालो छर्ने अत्याधुनिक २३ वटा हाइमास्ट लाइट जडान गरिएको छ ।
महानगरभित्रको ६० किलोमिटर मुख्य सडकमा २ हजार सात वटा सडक बत्ती जडान गरिएको छ । जसमध्ये ऊर्जा दक्षतायुक्त ९० वाट र १२० वाटका स्मार्ट बत्ती रहेका छन् । सडक बत्ती जडान अयोजनाको लागत १४ करोड ६५ लाख रुपैयाँ रहेको छ ।
कम विद्युत् खपत गर्ने तर उज्यालो बढी दिने बत्ती जडान गरिएको हो । स्ट्रिट लाइटले रातको समयमा सडकको यात्रा सुरक्षित र सडक तथा शहरी सौन्दर्यलाई बृद्धि गरी पोखराको रात्रिकालीन सौन्दर्यता बढाउने छ । पोखरा महानगरपालिकाले सडक बत्तीको महसुल तिर्ने व्यवस्था गरिएको छ ।
प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालित रुपमा स्मार्ट लाइटलाई नियन्त्रण गर्न सकिन्छ । यसका लागि ३२ वटा फिडर प्यानल जडान गरिएको छ । सडक बत्तीका लागि मात्र छुट्टै ट्रान्सफर्मर जडान गरिएको छ । स्मार्ट बत्ती प्राधिकरणको सर्भरसँग सिधै जोडिएको छ ।
सफ्टवेयरबाटै अँध्यारो हुँदा बत्ती बल्ने र उज्यालो हुँदा निभ्ने स्वचालित व्यवस्था छ । सफ्टवेरबाट विद्युत्को महसशुलको बिलिङ गरिन्छ । महशुल महानगरपालिकाले तिर्ने छ । बत्ती बले÷नबलेको अनुगमन पनि सफ्टवेयरबाटै गर्न सकिन्छ ।
जडान गरिएका बत्तीको ५ वर्षसम्म मर्मतसम्भार निर्माण व्यवसायी कम्पनीले नै गर्ने छ । सडक बत्तीको डिजाइन आयु ५० हजार घण्टा रहेको छ ।
प्रतिक्रिया