पुस १६ देखि १९ सम्म नियमित महाधिवेशन गर्ने गगन थापाको प्रस्ताव

पुस १६ देखि १९ सम्म नियमित महाधिवेशन गर्ने गगन थापाको प्रस्ताव


काठमाडौँ । नेपाली काँग्रेस महामन्त्री गगनकुमार थापाले पुस १६ देखि १९ गतेभित्र महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् ।

पार्टीको जारी केन्द्रीय समिति बैठकमा उनले उक्त प्रस्ताव राखेका हुन् ।

बैठकको सुरुवातमा सम्बोधन गर्दै उनले पुस १६ देखि १९ सम्म १५ औँ महाधिवेशनको प्रस्ताव राखेको एक केन्द्रीय सदस्यले बताए ।

नेपाली काँग्रेसको संस्थापन पक्षको भेलाले १५औँ महाधिवेशन वैशाख अन्तिम साता गर्ने प्रस्ताव गरेको छ ।

सोमबार नयाँ बानेश्वरमा बसेको काँग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेलाले आगामी २५ देखि २८ वैशाखसम्म महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लाने निर्णय गरेको थियो ।

संस्थापन इतरका नेताहरूले भने प्रतिनिधिसभा निर्वाचन अगाडि नियमित नत्र भने विशेष महाधिवेशन बोलाउनुपर्ने माग राख्दै आएका छन् ।

उनीहरूले विशेष महाधिवेशनका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर समेत कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइ सकेका छन् ।