काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पती सिंगापुरमा उपचार सकेर शुक्रबार राति काठमाडौँ आइपुगेका छन्। देउवा र उनकी पत्नी डा. आरजु राणा देउवा सिंगापुर एयरलाइन्सको उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
उनीहरू कात्तिक १० गते स्वास्थ्य जाँच र उपचारका लागि सिंगापुर प्रस्थान गरेका थिए। गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा बूढानीलकण्ठस्थित आफ्नै निवासमा आन्दोलनकारीको आक्रमणमा परेका देउवाको टाउकोको पछाडि भागमा गम्भीर चोट लागेको थियो। त्यसबेला उनको टाउकोमा १२ वटा टाँका लगाइएको कांग्रेस नेताहरूले जनाएका थिए।
विमानस्थलमा देउवा दम्पतीलाई स्वागत गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्का, पार्टी प्रवक्ता डा. प्रकाशशरण महत, तरुण दलका नेताहरूसहित दर्जनौं कार्यकर्ता पुगेका थिए। पार्टीको जिम्मेवारी कार्यवाहक सभापति खड्कालाई सुम्पेर देउवा सिंगापुर उडेका थिए। वर्तमान अन्तरिम सरकारले देउवासहितको पासपोर्ट रोक्का र काठमाडौँ बाहिर जाँदा अनुमति लिनुपर्ने निर्णय गरेको थियो। तर, उपचारका लागि विदेश जाने जानकारी पाएपछि उक्त प्रतिबन्ध फुकुवा गरिएको थियो।
यता, असोज २८ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठक एक महिनादेखि जारी छ। कार्यवाहक सभापति खड्काबाहेक सबै पदाधिकारी र सदस्यले धारणा राखिसके पनि महाधिवेशनको मितिबारे निर्णय हुन बाँकी छ। संस्थापन समूह देउवाकै नेतृत्वमा निर्णय लिन चाहन्छ।पार्टीभित्र विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विषयमा गम्भीर मतभेद कायम छ। महामन्त्री गगन थापाले नियमित महाधिवेशन अब सम्भव नभएको भन्दै मंसिर २७ गते विशेष महाधिवेशनको प्रस्ताव अघि सारेका छन्।
सभापति देउवाको स्वदेश फिर्तीसँगै कांग्रेसको आन्तरिक राजनीति थप रोचक मोडमा पुग्ने विश्लेषकहरूको अनुमान छ। अब छिट्टै शीर्ष नेताहरूबीच निर्णायक छलफल हुने सम्भावना छ।

प्रतिक्रिया