रुपन्देही । रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइ स्थगित भएको छ। बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविलाल जोशीको मुद्दामा आजका लागि पेसी तोकिएको थियो।
अदालतको ३ नम्बर इजलासमा पेसी तोकिएर न्यायाधीशद्धय मिलन कुमार राई र सानु मैया डंगोलले सुनुवाइ गर्ने तयारी गरिरहेको बेला लामिछानेका कानुन व्यवसायीले निवेदन दिएपछि सुनुवाइ स्थगित गरिएको हो। रविका कानुन व्यवसायीका तर्फबाट बुटवल इजलासको सुनुवाइ स्थगित गरिदिन निवेदन परेपछि स्थगित भएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए। बुटवलको सुप्रिम सहकारीको रकम ठगी गरेको अभियोगमा थुनामा रहेका लामिछाने र जोशीले आफ्नो भागमा पर्ने बिगो बराबरको रकम बुझाएर रिहा हुनुपर्ने माग गर्दै अदालतमा निवेदन दिएका थिए।
सप्रिम सहकारी ठगीमा रवि सहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ। लामिछानेले आफ्नो भागमा पर्ने २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत तिरेर रिहा हुन पाउनुपर्ने मागसहित जिल्ला अदालत मा निवेदन पेस गरेका थिए।

प्रतिक्रिया