काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि एक दिनका लागि स्थगित भएको छ। पटक-पटकको अनौपचारिक छलफल र शीर्ष नेताहरूको रातभरि प्रयास भए पनि शुक्रबार रातिसम्म नियमित महाधिवेशन र विशेष महाधिवेशनको विषयमा सहमति जुट्न सकेन। स्रोतका अनुसार संस्थापन पक्ष (सभापति शेरबहादुर देउवा पक्ष) ले विशेष महाधिवेशनको लिखित माग फिर्ता लिएमा मात्र पुसभित्रै नियमित महाधिवेशनको मिति घोषणा गर्ने अडानमा छ। तर विशेष महाधिवेशन पक्षधर नेताहरूले यो शर्त अस्वीकार गरेका छन्।
२४८८ जना महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहितको माग शिबेष महाधिबेशन फिर्ता लिएर फिर्ता हुने प्रस्ताव नभएकाले नियमित महाधिवेशन पुसमै भए विशेषको माग आफैं निष्क्रियहुने बैठकमा सहमागी एक नेताले बताए । कांग्रेस विधानअनुसार २९ असोजमा बुझाइएको विशेष महाधिवेशनको मागको तीन महिने समयसीमा २८ पुसमा सकिँदैछ। यदि त्यसअघि विशेष महाधिवेशन आह्वान भएन भने माग आफैं खारेज हुन्छ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा नेता डा। शेखर कोइराला पक्षले “पुस १६–१९ मा नियमित महाधिवेशन सम्भव नभए तुरुन्त विशेष महाधिवेशनमा जानुपर्छ” भन्ने अडान कायमै राखेका छन्। सभापति देउवा भने अलमलमा देखिएको र सबै पक्षलाई “आपसमा सहमति गरेर आउनू” भन्दै आएका छन्। पूर्वपदाधिकारीको एउटा समूह भने चुनावअघि कुनै पनि महाधिवेशन (नियमित वा विशेष) गर्न नहुने पक्षमा उभिएको छ।
शनिबार बिहान फेरि शीर्ष नेताहरूको अनौपचारिक छलफल बस्ने र त्यसपछि दिउँसो १ बजे बस्ने केन्द्रीय समिति बैठक कुनै पनि हालतमा नसारिने एक पदाधिकारीले बताए। “भोलि जसरी पनि एउटा निर्णय गर्छौं,” ती पदाधिकारीले भने। २८ असोजबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा सबै नेताहरूको धारणा राख्ने क्रम सकिएको छ। तर महाधिवेशनको विषयमा सर्वसहमति नबनेपछि बैठक बारम्बार स्थगित हुँदै आएको छ।
कांग्रेसको यो विवादले आगामी स्थानीय, प्रदेश र संघीय निर्वाचनको तयारीमा समेत असर पार्ने देखिएको छ।

प्रतिक्रिया