विशेष महाधिवेशन पक्षधरको शक्ति प्रदर्शन : बोलाइयो राजधानी बाहिरबाट प्रतिनिधि

विशेष महाधिवेशन पक्षधरको शक्ति प्रदर्शन : बोलाइयो राजधानी बाहिरबाट प्रतिनिधि


काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले प्रतिनिधिहरू काठमाडौं भेला गरेर निरन्तर दबाब दिने रणनीति बनाएको छ । २८ असोजदेखि पाँच साता भन्दा बढी समय लगाएर केन्द्रीय समितिले महाधिवेशनको विषयमा कुनै निर्णय लिन नसकेपछि विशेष महाधिवेशन पक्षधर रुष्ट बनेको छ । ११ मंसिरका लागि बोलाइएको केन्द्रीय समिति बैठकमा दबाब पुर्‍याउने उद्देश्यले त्यसको एक दिन अघि ‘प्रभावकारी सभा’ गर्न लागेको विशेष महाधिवेशन पक्षले जनाएको छ ।

विशेष महाधिवेशन मागको लागि अगुवाइ गर्ने नेता गुरुराज घिमिरेले १० मंसिरमा केन्द्रीय स्तरको सशक्त र प्रभावकारी भेला हुने जानकारी गराए । प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा विशेष सभा गर्न लागिएको विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलनको अगुवाइ गर्ने नेताहरूले जानकारी गराएका छन् । विशेष सभामा विशेष महाधिवेशनको पक्षधर तर सार्वजनिक रूपमा धारणा नराखेका नेताहरूले समेत सम्बोधन गर्न उक्त पक्षले जनाएको छ । विशेष महाधिवेशनका लागि यसअघि भएका दबाब भेला भन्दा बुधबारको सशक्त हुने नेविसंघका पूर्व नेता बलदेव तिमिल्सिनाले बताए । तिमिल्सिनाका अनुसार विशेष सभाका लागि उपत्यका बहिरबाट प्रतिनिधिहरूलाई आमन्त्रण गरिएको छ ।
कांग्रेसका शीर्ष तहका नेताहरूका अनुसार संस्थापनका शीर्ष तहका नेताहरूले महाधिवेशनको कार्यतालिका ल्याउनका लागि विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिनुपर्ने शर्त राखेका छन् । विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिन मागकर्ताहरूले सुन्नै चाहेका छैनन् । पुसभित्र महाधिवेशन नियमित महाधिवेशन भए । विशेष महाधिवेशनको माग स्वतः निस्तेज हुने केन्द्रीय सदस्य मधु आचार्य बताउँछन् । ‘नियमित महाधिवेशन नगर्ने तर विशेषको प्रस्ताव फिर्ता गर्नुपर्ने स्वीकार्न सकिँदैन’, उनी भन्छन्,‘विशेष महाधिवेशन गुरुराज घिमिरे, मधु आचार्यले फिर्ता गरेर फिर्ता हुने प्रस्ताव होइन । २४८८ प्रतिनिधिको अधिकारलाई अरू कसैले फिर्ता गर्छु भनेर हुँदैन ।’ कांग्रेसको विधान अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर सहित लिखित माग गरेको तीन महिनाभित्र विशेष महाधिवेशन आव्हान गर्नुपर्ने व्यवस्था छ । कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले २९ असोजमा विशेष महाधिवशेनको माग सहित कार्यवाहक सभापतिलाई हस्ताक्षर बुझाएका थिए । विशेष महाधिवेशन लिखित प्रस्ताव गरिएको मितिले २८ पुसभित्र महाधिवेशन आह्वान गर्नुपर्दछ । महामन्त्री गगन थापाले पुस १६ देखि १९ सम्म नियमित महाधिवेशन गर्ने कार्यतालिका केन्द्रीय समितिमा पेश गरेपनि त्यसबारेमा बैठकले निर्णय लिएको छैन । त्यसअवधि भित्र नियमित महाधिवेशनका लागि नेताहरू तयार नभएपछि विशेष महाधिवेशनको मिति २७ मंसिरका लागि महामन्त्री थापाले केन्द्रीय समितिमा प्रस्ताव गरेका थिए । पूर्व पदाधिकारीहरूको एक समूह चुनावअघि नियमित वा विशेष महाधिवेशनको पक्षमा देखिएको छैन । खासगरी कावा सभापति पूर्णबहादुर खड्कालाई अन्तरिम अवधि चलाउने म्यान्डेटसहित सिंगापुर उपचारमा गएका सभापति शेरबहादुर देउवा फेरी शक्तिमा फर्कन खोजेका संशयमा पार्टीभित्रको परिवर्तन पक्षधर शक्तिले रणनीतिबारे सोचिरहेको छ । दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा समयको चापले गर्दा अब विशेष महाधिवेशनतिर जानुपर्ने बताएका छन् । विशेष महाधिवेशन गर्ने स्पष्ट महामन्त्री थापाले सोमबार सामाजिक सञ्जाल मार्फत पनि पारेका छन् ।
‘अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ । त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ । नयाँ सभापतिको हस्ताक्षरसहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ। नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ,’ महामन्त्री थापा भन्छन्,‘यही कारण हो हामीले निर्वाचन अगाडि नै महाधिवेशन भनेको । अब विशेष महाधिवेशनको विकल्प छैन ।’ २०१४ सालमा विशेष महाधिवेशन भएको कांग्रेसको इतिहास छ । त्यसबेला सभापति सुवर्णशमसेर राणा स्वयं विशेष महाधिवेशनका लागि तयार हुँदा नयाँ नेतृत्व चयन सहज भएको थियो । यसपटक भने मूल नेतृत्वबाट विशेष महाधिवेशनको प्रस्ताव नगरी महाधिवशेनका प्रतिनिधिहरूबाट भएको छ । विधानले विशेष महाधिवेशन आह्वान गर्नुपर्ने उल्लेख गरेको छ । तर, कुन कुन संरचनाको नेतृत्व चयन हुने बारे स्पष्ट छैन । विशेष महाधिवेशन पक्षधरका नेताहरू कुन विधिबाट विशेष महाधिवेशन गर्न सकिनेमा छलफल गर्न तयार रहेको बताउँदै आएका छन् । समयले सभापति देउवालाई सुवर्णशमसेर राणाको भूमिकामा देखिनुपर्ने अर्का महामन्त्री विश्वप्रकाश शर्माको सुझाव छ ।
तत्कालीन सभापति सुवर्ण शमशेरलेझैं सभापति देउवाले विशेष महाधिवेशन बोलाउनु उपयुक्त विकल्प शर्मा देख्छन् । ‘पार्टीका आदरणीय सभापतिज्यूले देशको परिस्थिति, पार्टीको अवस्था र समयको चाप बुझेर ‘सुवर्ण शमशेर पथ’ पछ्याउन सक्नुहुन्छ भन्ने मलाई लाग्छ,’ शर्माले सोमबार इलाममा भने, ‘त्यो भनेको ०१४ सालमा झैं स्वयं सभापतिले मार्गप्रशस्त गर्ने । त्यसले एकातर्फ पार्टीले निकास प्राप्त गर्छ, अर्कोतर्फ उहाँको सम्मान र अभिभावकत्वको भूमिकाले उचाइ पाउने छ ।’ १४ औं महाधिवेशनका झण्डै ५४ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशनका लागि गरेको हस्ताक्षर सम्बोधन नगरी कांग्रेस अघि बढ्न नसक्ने महामन्त्री शर्माले बताए । ‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई सम्बोधन नगरी पार्टी अघि जान सक्दैन,’ उनले भने ।
केन्द्रीय समिति बैठक स्थगित गर्दै शीर्ष तहमा सहमति जुटाउने प्रयत्न गरेपनि महाधिवेशन चुनावअघि महाधिवेशनमा कुरा मिल्न सकेको छैन । गत शनिबार बसेको केन्द्रीय समिति बैठकले महाधिवेशन बारे निर्णय नगरी अन्य एजेण्डाबारे निर्णय गरेको थियो ।
चुनावपछि महाधिवेशनको हुने गरी कार्यतालिका ल्याउन खोजिए त्यसलाई मान्य नहुने विशेष महाधिवेशन पक्षधरले जनाएका छन् । शनिबारको बैठक लगत्तै महामन्त्री थापाले भनेका थिए,‘पुस मसान्तभित्र महाधिवेशन गर्ने गरी निर्णय गर्नुपर्दछ । कसैले कार्यतालिका खोजेको होइन । महाधिवेशन खोजेको हो ।’ विशेष महाधिवेशनको मागबाट पछि हट्न नसकिने सोमबार पनि जानकारी गराएका छन् । चुनावअघि नियमित महाधिवेशनको पक्षमा रहेका देउवा पक्षीय केन्द्रीय सदस्यहरुले सोमबार विशेष महाधिवेशन पक्षधरका अगुवा नेताहरूलाई भेटेका थिए । बिहीबार बस्ने केन्द्रीय समिति बैठकले महाधिवेशन गर्ने सुनिश्चिता नगरे दबाबलाई निरन्तर बढाउने विशेष महाधिवेशन पक्षधर नेताहरुले जानकारी गराएका छन् ।