एमाले महाधिवेशनको नारा तय, उद्घाटन स्थलका लागि ३ ठाउँ प्रस्ताव

एमाले महाधिवेशनको नारा तय, उद्घाटन स्थलका लागि ३ ठाउँ प्रस्ताव


काठमाडौँ । नेकपा एमालेले ११औँ महाधिवेशनको मूल नारा तय गरेको छ । च्यासलमा बसेको महाधिवेशन सचिवालय बैठकले महाधिवेशनको तयारी योजनासहित विभिन्न निर्णय गरेको छ ।

जसअनुसार ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्प: समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ मूल नारासहित एमाले महाधिवेशनमा जानेछ । यही मंसिर २७-२९ मा एमालेको महाधिवेशन हुँदै छ ।

महाधिवेशन उद्घाटन स्थलका लागि ३ वटा सम्भावित स्थान पनि प्रस्तावित गरिएको छ । जसमा खुलामञ्च, भृकुटीमण्डप र भक्तपुर सल्लाघारीको खाली जमिन छ । यी ३ मध्ये भृकुटीमण्डप सानो हुने, खुलामञ्चमा कार्यक्रम गर्न काठमाडौँका मेयर बालेन साह सकारात्मक नहुने आँकलनसहित सल्लाघारी उपयुक्त विकल्प मानिएको बैठकमा सहभागी एक नेताले बताए ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पनि काठमाडौँमा सवारी जाम, सर्वसाधारणलाई आवतजावतमा पर्न सक्ने बाधासमेतलाई ध्यानमा राखेर उद्घाटन स्थल सल्लाघारीमा सार्ने सम्भावना बढी रहेको बताए । बन्द सत्र भने भृकुटीमण्डपमा हुनेछ ।

महाधिवेशनको तयारीका लागि बनेका १२ उपसमितिले अहिलेसम्म भए गरेका कामको प्रगतिबारे जानकारी गराउनुको साथै योजना प्रस्तुत गरेको गौतमको भनाइ छ ।