काठमाडौँ।
जेनजी आन्दोलनपछि गठित अस्थायी सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेना मुख्यालय जंगी अड्डाको निरीक्षण गरी निर्वाचन सुरक्षा तयारीबारे जानकारी लिएकी छन्। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सेनालाई स्पष्ट निर्देशन दिँदै उनले ुएक थोपा पनि रगत नबग्ने र एक जना पनि घाइते नहुनेु प्रतिबद्धता व्यक्त गरिन्। सेनाको ब्रिफिङमा हालको सुरक्षा अवस्था, प्रमुख चुनौती र आगामी योजनाबारे छलफल भएको थियो। निर्वाचन सुरक्षामा सेना परिचालनको ढाँचा र प्रस्तुतीकरण पनि दिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
“आन्दोलनपछिको यो सरकारको राष्ट्रिय अभिभारा हो – शान्ति सुरक्षा बहाल गरी निर्वाचन सम्पन्न गर्ने। सेनाले यो जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने विश्वास छ,” प्रधानमन्त्री कार्कीले भनिन्, “जनतालाई सुरक्षाको प्रत्याभूति दिन, प्रहरी कारबाही सहज बनाउन सहयोग गर्न र राजनीतिक दलका गतिविधि बिनाअवरोध सञ्चालन हुने वातावरण सिर्जना गर्न स्पष्ट कार्ययोजना बनाउनुहोस्।”
उनले जेनजीु आन्दोलनका क्रममा लुटिएका हतियारको खोजी, फरार अपराधी पक्राउ र स्थिति सामान्यीकरणमा प्रहरीसँग सहकार्य गर्न पनि निर्देशन दिइन्। “यसअघिका निर्वाचन अनुभव र आगामी चुनावका आयामबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलतामा आधारित समन्वयात्मक र त्रुटिरहित ढाँचाले काम गर्नुहोस्,” उनको जोड थियो। कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल र कानुनमन्त्री अनिलकुमार सिन्हा पनि उपस्थित थिए।

प्रतिक्रिया