काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको मिति र स्वरूपलाई लिएर जारी विवाद समाधान गर्न सभापति शेरबहादुर देउवा लगातार छलफलमा जुटेका छन्। आज पनि उनले कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा आफूनिकट नेता कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधिसहित शीर्ष नेताहरूसँग लामो छलफल गरेका छन्।
हिजोको छलफल निष्कर्षविहीन बनेपछि देउवाले आज सिटौला र निधिलाई पनि बोलाएर सहमतिको प्रयास तीव्र पारेका हुन्। महामन्त्री थापा–शर्माले विशेष महाधिवेशन वा चुनावअघि नै नियमित महाधिवेशन अनिवार्य गर्ने अडान कायमै राखेका छन् भने सभापति देउवा र सिटौला–निधि पक्ष विशेष महाधिवेशनको विपक्षमा छन्।
स्रोतका अनुसार देउवाले मध्यमार्गी प्रस्ताव अघि सारेका छन् । अहिले विशेष महाधिवेशन नगर्ने र पुस मसान्तभित्रै नियमित १४औँ महाधिवेशन सम्पन्न गर्ने गरी नयाँ कार्यतालिका ल्याउने प्रस्तावमा सहमति गर्न आग्रह गरेका छन् ।
“सभापतिज्यू पुसभित्रै महाधिवेशन गर्न सकारात्मक हुनुहुन्छ, तर विशेष महाधिवेशन चाहनुहुन्न,” देउवानिकट एक नेताले भने, “महामन्त्रीहरूले चुनावअघि महाधिवेशन नभए सिंगो पार्टी संकटमा पर्ने चेतावनी दिइरहनुभएको छ।”
चुनाव नजिकिँदै गर्दा पार्टीभित्र महाधिवेशन नगरी नेतृत्व लिएर जान नमिल्ने आवाज संस्थापनइतर पक्षबाटै बलियो बन्दै गएको छ। यता सिटौला र निधि भने देउवालाई साथ दिँदै विशेष महाधिवेशनको विरोधमा छन्।

प्रतिक्रिया