काठमाडौ । नेपाली कांग्रेसभित्र नियमित वा विशेष महाधिवेशन गर्ने विषयमा चर्किएको विवाद आज (शनिबार) पनि सुल्झिन सकेन। सभापति शेरबहादुर देउवाको भाडाको निवास महाराजगञ्जमा दिउँसो २ बजे सुरु भएको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको छलफल चार घण्टाभन्दा बढी चले पनि कुनै सहमति बन्न सकेन।नेता विमलेन्द्र निधिका अनुसार आजको छलफल विशेष महाधिवेशन रोक्ने र निर्वाचनपछि विशेष महाधिवेशन गर्ने सम्भावनामा केन्द्रित थियो। ‘मंसिरमा नसके पुस वा माघसम्म गरेर भए पनि नियमित महाधिवेशनको तालिका ल्याएर अघि बढौँ,’ सभापति देउवालाई उद्धृत गर्दै निधिले भने, ‘मध्यमार्गको प्रयोग गरौँ। विशेष महाधिवेशन हुँदैन, त्यसलाई रोक्नुपर्छ।’
देउवाले बैठकमा महामन्त्री गगनकुमार थापासहित विशेष महाधिवेशन पक्षधरहरूलाई आफ्नो प्रस्ताव फिर्ता लिएर नियमित महाधिवेशनतर्फ अघि बढ्न आग्रह गरे। ‘मंसिर, पुस जुन महिनामा भए पनि नियमित नै गर्ने र विशेष महाधिवेशन नगर्ने, विशेष माग गर्नेहरूलाई फिर्ता लिन लगाएर काम अघि बढाऔँ,’ देउवाले महामन्त्री थापालाई आग्रह गरेका थिए। लगत्तै थापाले भने, ‘विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिने जिम्मा म लिन सक्दिनँ।’ छलफलमा सहभागी नेता डा. शेखर कोइराला र रमेश लेखकले विशेष महाधिवेशन पुस महिनामा गर्दा नै उपयुक्त हुने प्रस्ताव गरेका थिए। ‘शेखरजी र रमेश लेखकजीले विशेष महाधिवेशन पुसमा गर्ने गरी अघि बढ्दा राम्रो हुन्छ भन्नुभयो,’ छलफलमा सहभागी अर्का नेताले भने।
तर, यो प्रस्तावलाई निधि र कृष्ण सिटौलाले अस्वीकार गरे। ‘मैले र सिटौलाजीले के भन्यौँ भने— मंसिरमा यो सम्भव नै छैन। अब पुस वा माघमा गर्दा निर्वाचन नै प्रभावित हुन्छ। फागुन २१ गतेको निर्वाचनलाई बाधा हुन्छ। अब राष्ट्रिय सभाको लागि काम गर्नुपर्नेछ,’ बैठकमा राखेको धारणाबारे निधिले थपे, ‘छिटै प्रतिनिधि सभाको समानुपातिकको सूची बुझाउनुपर्नेछ। चुनाव प्रचारमा पनि लाग्नुपर्नेछ।’
बैठकमा निधि र सिटौलाले केन्द्रीय समितिमा सर्वसम्मत निर्णय नभए बहुमत र अल्पमत गरेर टुंगो लगाउने प्रस्ताव पनि राखेका थिए। देउवाले भने पार्टीको विवाद रोक्न के गर्न सकिन्छ त्यो प्रयास गरौँ भन्दै मध्यमार्गी बाटो अपनाउन जोड दिए। ‘पार्टीमा विवाद रोक्न सकिन्छ भने मंसिर, पुस र माघ जुन बेलामा हुन्छ गरौँ। विवाद सल्टाउन सकिन्छ भने जसो गर्दा हुन्छ त्यसै गरौँ,’ निधिले देउवालाई उद्धृत गर्दै भने। नेताहरूबीच सहमति नजुट्दा भोलिका लागि तय भएको केन्द्रीय समिति बैठक सोमबार दिउँसोसम्म सारिएको छ। यसअघि शुक्रबार पनि देउवाले पदाधिकारीहरूसँग नियमित महाधिवेशनको तयारी गर्न निर्देशन दिएका थिए। तर, विशेष महाधिवेशन पक्षका नेताहरू निर्वाचनअघि नै महाधिवेशन सम्पन्न गर्नुपर्ने अडानमा छन्।
कांग्रेसको विधानअनुसार १५औँ महाधिवेशन आगामी फागुनमा तोकिएको छ। क्रियाशील सदस्यता विवाद र तयारी नपुगेको भन्दै विशेष महाधिवेशनको माग चर्किएको हो। सभापति देउवा पक्ष भने फागुन २१ को प्रतिनिधिसभा निर्वाचनलाई प्रभावित नपार्ने गरी नियमित महाधिवेशन गर्ने पक्षमा दृढ छ।पार्टी स्रोतका अनुसार आगामी केन्द्रीय समिति बैठकमा बहुमतका आधारमा निर्णय लिने तयारी भइरहेको छ। यसले पार्टीभित्र थप तनाव निम्त्याउने आशंका गरिएको छ।

प्रतिक्रिया