काठमाडौ । फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन नहुने निष्कार्षमा पुगेपछि नेपाली कांग्रेसभित्र तीन महिनादेखि चलिरहेको विशेष र नियमित महाधिवेशनको विवाद तत्कालका लागि टुंगिएको छ।
शीर्ष नेताहरूबीच “चुनाव नहुने अवस्थामा नै पुस मसान्तभित्र नियमित महाधिवेशनको कार्यतालिका ल्याएर अघि बढ्ने” भन्ने समझदारी बनेको छ। यो सहमतिसँगै विशेष महाधिवेशनको माग अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ। कांग्रेसका एक पदाधिकारीका अनुसार, “संसद् विघटनको मुद्दामा सर्वोच्च अदालतको फैसला आउन बाँकी छ, निर्वाचन आयोगको तयारी र समग्र वातावरण हेर्दा फागुन २१ मा चुनाव हुने सम्भावना न्यून छ भन्ने निष्कर्षमा सबै पुगेका छौं। त्यही भएर तत्काल पुसको कार्यतालिका ल्याएर अघि बढ्न सहज भएको हो।” यसअघि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गरेका नेता डा. शेखर कोइराला, महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले “पुसभित्र नियमित महाधिवेशन भए विशेषको आवश्यकता नपर्ने” अडान राख्दै आएका थिए।
सभापति शेरबहादुर देउवा पक्षले भने चुनावलाई प्रभावित नपार्ने गरी नियमित महाधिवेशनमै जोड दिँदै आएको थियो। “चुनाव नै नहुने अवस्था देखिएपछि दुवै पक्ष लचक भए,” ती पदाधिकारीले भने, “पुस मसान्तसम्म वडा–क्षेत्रको अधिवेशन सकेर जिल्ला र प्रदेशको काम अघि बढाउने, आवश्यक परे थप एक–डेढ महिना समय लिने गरी समझदारी बनेको छ।” सहमतिअनुसार आज बस्ने केन्द्रीय कार्यसमिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुस मसान्तसम्मको कार्यतालिका प्रस्तुत गर्नेछन्।
यद्द्पि उक्त कार्यतालिकाको मस्यौदामा अझै सामान्य असहमति रहेको स्रोतले जनाएको छ। “राष्ट्रियसभा र समानुपातिकको बन्दसूची बुझाउने काम पुस दोस्रो सातामै सकिन्छ। त्यसपछि चुनाव नहुने पक्का भए महाधिवेशनलाई फागुनसम्म पनि लैजान सकिन्छ,” संस्थापन पक्षका एक नेताले भने, “चुनावअघि महाधिवेशन गरौं भन्ने नै हो। फागुनमा चुनाव भए पुसमा, जेठमा चुनाव भए फागुन–चैतमा गरौंला भन्नेमा अब सबैको समझदारी छ।”

प्रतिक्रिया