काठमाडौं जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित उच्चस्तरीय न्यायीक जाँचबुझ आयोगले सशस्त्र र नेपाल प्रहरीका दुई जना अतिरिक्त महानिरिक्षक (एआईजी)सँग सोधपुछ गरेको छ।
सशस्त्र प्रहरीको कार्य विभागका प्रमुख नारायणदत्त पौडेल र प्रहरीको कार्यविभाग प्रमुख एआईजी सिद्धिविक्रम शाहसँग आयोगले सोधपुछ गरेको हो।
अहिले शाह राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएका छन्। सशस्त्रका पौडेल अहिले पनि कार्य विभागको नेतृत्वमा छन्।
दुवै संगठनको कार्य विभागले दैनिक अपरेसनको नेतृत्व गर्ने हुनाले एआईजीद्ववयलाई घटनाबारे सोधपुछ गरिएको जाँचबुझ आयोगका एक सदस्यले बताए।
गौरीबहादुर कार्की नेतृत्वको आयोगले मङ्सिर १० मा राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख (मुख्य अनुसन्धान निर्देशक) हुतराज थापालाई बयान लिएको थियो। मुख्य अनुसन्धान निर्देशकको ३ वर्षे पदावधि पुरा गरेर थापा भदौ २८ मा सेवा निवृत्त भएका थिए।
जेनजी प्रदर्शन हुँदा उनी गुप्तचर प्रमुख थिए। बयानपछि थापालाई विदेश भ्रमणमा जान र उपत्यका छाड्न रोक लगाउने निर्णय फुकुवा गरिएको छ।
आयोगले यसअघि पूर्वमुख्यसचिव एकनारायण अर्यालसँग सोधपुछ गरेको थियो। आयोगले राष्ट्रिय अनुसन्धान विधागको उपत्यका हेर्ने डीआईजी कृष्ण खनाल, उपत्यका प्रहरी कार्यालय रानीपोखरीका तत्कालिन निमित्त प्रमुख ओम राना, सशस्त्र प्रहरीका डीआईजी सुरेश श्रेष्ठ र नेपाल प्रहरीका एसपीद्ववय अपिल बोहरा र कुलदिप चन्दसँग बयान लिइसकेको छ।

प्रतिक्रिया