काठमाडौं। नेपाली कांग्रेसका युवा नेता रमेश खरेलले पार्टीको १५औं महाधिवेशनमा पार्टी नेतृत्व रुपान्तरणका लागि डा.शेखर कोइरालालाई पूर्वमहामन्त्री डा. शसांक कोइरालासहित पार्टीका विभिन्न समुह र पक्षको समर्थन हुने बताएका छन्।
विकास टाईम्ससँगको कुराकानीमा युवा नेता खरेलले जेन्जी पुस्ता, युवा पुस्ता र कोइराला परिवारका सबै सदस्यहरुको समर्थनमा उहाँ नै महाधिवेशनमा सभापति हुने पक्का भएको बताए।
नेपाली कांग्रेसलाई बलियो बनाउनका लागि राष्ट्रिय र अन्तराष्ट्रिय समुदायले पनि हेरिरहेको अवस्थामा पार्टीमा देखिएका अनमेलहरुलाई एकताबद्ध गर्न डा. शसांक कोइरालाले समेत डा.शेखर कोइरालालाई साथ र समर्थन गरेर अघि बढ्ने ठोकुवा गरे।
‘अहिलेको नयाँ पुस्तालाई साथमा लिएर कोइराला परिवारका सदस्यहरु डा.शसांक कोइराला, सुजाता कोईरालासहितको समर्थनमा १५औं महाधिवेशनमा डा.शेखर कोइारलाले नेतृत्वमा दाबी गर्नुहुने छ’, नेता खरेलले भने, ‘पुरानो नेतृत्व अबको महाधिवेशनमा दोहोरिँदैन। सभपाति नै विधानत दोहोरिने सम्भावना नरहेकोले कांग्रेसको अनमेललाई मिलाएर लैजाने क्षमता नै डा. शेखरसँग छ।’
उनले पार्टीको स्थानीय तहको अधिवेशन गर्न समय नै अपुग भएकाले व्यवहारिक र बैज्ञानिक रुपमा कठिनाई भएको बताए। पार्टीको नेतृत्व परिवर्तन हुन सक्यो भने आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेस सशक्त रुपमा जान सक्ने विश्वास व्यक्त गरे।
उनले जनता र कांग्रेसका कार्यकर्ताहरुले पार्टी नेतृत्वमा नयाँ चेहरा खोजिरहेको अवस्थामा सबै पक्षलाई समेटेर लैजाने क्षमता, योग्यता र अनुभव नै डा. शेखरसँग भएको उनले बताए।

प्रतिक्रिया