काठमाडौं । नेपाली कांग्रेसले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधि सभा उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस गर्दा कडा प्रतिबन्धहरू लगाएको छ। पार्टीले तल्ला तहका समितिहरूलाई दुई पटक परिपत्र जारी गर्दै वर्तमान सांसद तथा स्थानीय तहका जनप्रतिनिधिहरूलाई उम्मेदवार बनाउन नपाइने स्पष्ट निर्देशन दिएको हो।
कांग्रेसको निर्देशन अनुसार अहिले राष्ट्रिय सभा सदस्य रहेका व्यक्तिको नाम उम्मेदवारका रूपमा सिफारिस गर्न नपाइने भएको छ । निर्देशनमा प्रदेश सभा सदस्यहरूको नाम पनि उम्मेदवार सिफारिस गर्न निषेध गरिएको छ।भने २०७९ को प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ सांसद बनेकाहरूको नाम समावेश गर्न पूर्ण रूपमा रोक लगाइएको छ।
मापदण्डमा २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसको टिकट लिएर निर्वाचित भएका मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्षहरूको नाम पनि सिफारिस गर्न नपाइने भएको छ। प्रतिनिधि सभा उपनिर्वाचनका लागि प्रत्यक्षतर्फ प्रत्येक क्षेत्रबाट एकजना महिला गरी कम्तीमा ३ जना सम्भावित उम्मेदवारको नाम सिफारिस गर्नुपर्ने कांग्रेसले जनाएको छ। समानुपातिकतर्फ पनि यही मापदण्ड लागू हुनेछ।
पार्टी प्रवक्ता डा प्रकाशशरण महतले भने, “यसपटक लामो समयदेखि अवसर नपाएका, नयाँ अनुहार र योग्य कार्यकर्तालाई प्राथमिकता दिने नीति कांग्रेसले लिएको छ। पुराना तथा हाल पदमा रहेका नेताहरूलाई आराम दिने र नयाँ पुस्तालाई अवसर दिने पार्टीको निर्णय हो।”
कांग्रेसले मंसिर मसान्तभित्र सबै जिल्ला तथा क्षेत्रीय समितिबाट नामावली केन्द्रीय कार्यसमितिमा पठाउन अन्तिम समयसीमा तोकेको छ।

प्रतिक्रिया