काठमाडौ । नेपाली कांग्रेसको आगामी पुस २६–२८ गते हुने १५औँ महाधिवेशन नजिकिँदै गर्दा सभापतिका आकांक्षीहरूले लबिङ र उम्मेदवारी घोषणा तीव्र पारेका छन्। पार्टी विधानले सभापति शेरबहादुर देउवाले तेस्रो पटक उम्मेदवारी दिन नपाउने व्यवस्था गरेपछि नयाँ सभापति चयन हुने निश्चित भएको छ। अहिलेसम्म सभापतिको दौडमा ६ जना नेताको नाम प्रमुख रूपमा चर्चामा छ । १४औ महाधिबेशन सभापति शेर बहादुर देउवासंग पराजित भएका डा शेखर कोइराला
सबैभन्दा पहिले औपचारिक रूपमै उम्मेदवारी घोषणा गरेका छन् । गत वर्ष धनगढीमा आयोजित कार्यक्रममै उनले आफू १५औँ महाधिवेशनको “स्वाभाविक उम्मेदवार” भएको बताएका थिए। १४औँ महाधिवेशनमा दोस्रो चरणसम्म देउवासँग भिडेका कोइरालाले १८५५ मत प्राप्त गरेका थिए। उनको टिमले अहिले पनि “निर्विकल्प उम्मेदवार” भन्दै प्रचार गरिरहेको छ।
त्यसैगरी महामन्त्री गगन थापा युवा पुस्ताको बलियो उम्मेदवारका रुपमा अगाडी सरेका छन् । थापाले पटक(पटक सार्वजनिक रूपमै १५औँ महाधिवेशनमा सभापति लड्ने बताइसकेका छन्।
पार्टीभित्र र बाहिर उनको लोकप्रियता देखिएको छ । अर्का उम्मेदवार कार्यवाहक सभापति पूर्णबहादुर खड्का रहेका छन् । देउवाले विदेश भ्रमणका बेला कार्यवाहक जिम्मेवारी दिएका खड्का संस्थापन पक्षको सबैभन्दा बलियो दाबेदार मानिएका छन् । उनले औपचारिक घोषणा नगरे पनि निकट नेताहरूमार्फत “स्वाभाविक दाबेदार” भन्दै दबाब बढाइरहेका छन्। त्यसो त कल्याण गुरुङले पनि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । १४औँ महाधिवेशनमा सभापतिमा लडेर २२ मत मात्रै ल्याएका गुरुङले यसपटक पनि “प्यानलसहित” उम्मेदवारी दिने तयारी गरेका छन्। “साथीहरूसँग छलफल चलिरहेको छ,” उनले भने।
उता संस्थापन पक्षका सात पूर्वपदाधिकारीमध्ये एक जनालाई उम्मेदवार बनाउने गृहकार्यमा जुटेका छन् । विमलेन्द्र निधि, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा शशांक कोइराला र डा प्रकाशशरण महतले पटक(पटक बसेर “हामीमध्ये एक जनालाई साझा उम्मेदवार बनाउने” प्रयास गरिरहेका छन्। तर अहिलेसम्म सहमति जुट्न सकेको छैन। निधिले भनेका छन्, “सात जना मात्र होइन, समग्र संस्थापनबाटै एक जनालाई सहमतिमा अघि सार्ने कोसिस जारी छ।” कांग्रेसका एक नेताले भने, “संस्थापन पक्षले एकजना मात्रै अघि सार्न सक्यो भने शेखर र गगनमध्ये एक जनासँग मात्रै मुख्य प्रतिस्पर्धा हुन्छ। नत्र धेरै टुक्रिएर फाइदा अर्कै पक्षलाई पुग्न सक्छ।”
महाधिवेशनको मिति नजिकिँदै गर्दा आगामी एक साताभित्रै थप नेताहरूले औपचारिक उम्मेदवारी घोषणा गर्ने सम्भावना रहेको नेताहरू बताउँछन्।

प्रतिक्रिया