
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की मधेस प्रदेश सांसद कञ्चन विच्छाको पद गएको छ। मधेस प्रदेश सभाले शुक्रबार विच्छालाई सांसद पदबाट हटाएको सूचना जारी गरेको हो।
राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट मधेश प्रदेशमा एक मात्र समानुपातिक महिला सांसद विच्छाले पार्टीको नीति विपरित एमाले नेतृत्वको प्रदेश सरकारमा मन्त्री भएपछि उनलाई पार्टीले कारबाही गरेको हो।
पार्टीको अनुशासन उल्लंघन गरेकाले पार्टीको विधान २०४८ (संशोधन सहित) अनुसार ६ महिना साधारण सदस्यबाट निष्कासन गरी विच्छालाई प्रदेश सभा सदस्यबाट फिर्ता गर्ने राप्रपा केन्द्रीय कार्य सम्पादन समितिले निर्णय गरेको थियो।
विच्छालाई राजनैतिक दल सम्बन्धी ऐन, २०७३ दफा ३४ बमोजिम निजलाई प्रदेश सभा सदस्यबाट निष्काशन गरिएको जारी सूचनामा उल्लेख गरिएको छ।
गत कात्तिक २५ गते राति तत्कालिन प्रदेश प्रमुख सुमित्रादेवी सुवेदी भण्डारीले बर्दिवासको एक होटलमा सपथ खाएका एमाले संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वको सरकारमा विच्छा मन्त्री बन्न पुगेकी थिइन।
प्रदेश सभामा आफ्नो सरकारको पक्षमा बहुमत पुग्ने अवस्था नदेखेपछि मुख्यमन्त्री यादवले पदबाट राजिनामा दिईसकेका छन्। मुख्यमन्त्रीबाट यादवले राजिनामा दिएपछि बिच्छाको एकातिर मन्त्री पद गुमेको छ भने उता पार्टीले सांसद पद नै चैट गरेको छ।


प्रतिक्रिया