काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित पाँचजना तत्कालीन मन्त्री र १० जना तत्कालीन सचिवसहित ५५ जनालाई विपक्षी बनाएर मुद्दा दायर गरेको हो। यसअघि नलिनचोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचारको मुद्दा दायर भएको एक हप्ता नबित्दै महानिर्देशक अधिकारीमाथि अर्को मुद्दा दायर गरिएको हो।
विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार मुद्दा दर्ता प्रक्रिया जारी रहेको छ। अख्तियारले पोखरा विमानस्थल प्रकरणमा करिब आठ अर्ब रुपैयाँ बिगो दाबी गरेको जनाएको छ। मुद्दामा समावेश गरिएका तत्कालीन मन्त्रीहरूमा डा. रामशरण महत, पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम आचार्य र दीपक अमात्य रहेका छन्। उनीहरूसँगै १० जना तत्कालीन सचिव र अन्य अधिकारी तथा व्यक्तिहरूलाई समेत भ्रष्टाचारको आरोपसहित मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

प्रतिक्रिया