काठमाडौँ । भारत गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा परी चार नेपालीको पनि मृत्यु भएको खुलेको छ । सो घटनामा कुल २५ जनाको मृत्यु भएको छ भने ६ जना घाइते छन् ।
घटनामा मृत्यु हुने २० जना क्लबका कर्मचारी हुन् भने उनीहरूमध्ये चार जना नेपालका नागरिक भएको गोवा सरकारले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
हिन्दुस्तान टाइम्सका अनुसार आगलागीमा परी मृत्यु हुने नेपालीहरूमा चूर्णबहादुर पुन, विवेक कटवाल तथा सविन र सुदीप छन् । उनीहरू नेपालका भनिए पनि ठेगाना खुलेको छैन । गोवा सरकारले शव नेपाल पठाउने व्यवस्था मिलाइने जनाएको छ ।
अधिकारीका अनुसार शनिबार मध्यराति नाचगान भइरहेको बेला इलेक्ट्रोनिक फायरक्राकर चलाउँदा आगलागी सुरु भएको थियो । साँघुरा बाटोका कारण दमकल पुग्न नसक्दा आगो भयावह भएको थियो ।
नाइट क्लबमा धेरैजसो मानिस भुइँतलामा र भान्सातिरै थुनिएर ज्यान गुमाएको पाइएको छ । केहीको जलेर र केहीको धुँवामा निसास्सिएर मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया