चुनावका लागि मोरङ ३ मा कांग्रेसबाट सुनिल शर्माको एकल नाम सिफारिस

चुनावका लागि मोरङ ३ मा कांग्रेसबाट सुनिल शर्माको एकल नाम सिफारिस


विराटनगर ।
प्रतिनिधिसभा पुनःस्थापना मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकै बेला नेपाली कांग्रेसभित्र सम्भावित निर्वाचनका लागि उम्मेदवार सिफारिसको होडबाजी तीव्र बनेको छ। पार्टी विधानअनुसार क्षेत्रीय समितिबाटै नाम सिफारिस गर्नुपर्ने भएकाले नेताहरू आ(आफ्नो क्षेत्रमा रातारात पुग्न थालेका छन्।
यसै क्रममा मोरङ क्षेत्र नं ३ को क्षेत्रीय समितिले वर्तमान सांसद सुनिल शर्माको एकल नाम सिफारिस गरेको छ। यसअघि २०७४ मा एमालेका भानुभक्त ढकाललाई पराजित गर्दै सोही क्षेत्रबाट विजयी भएका शर्मा यसपटक पनि सर्वसम्मत बनेका हुन्।
जेन(जी आन्दोलनपछि पार्टीभित्र नयाँ पुस्ताले “पुराना अनुहारलाई विश्राम, युवालाई अवसर” भन्दै दबाब बढाएका छन्। तर धेरैजसो क्षेत्रमा अझै पुरानै नेताहरूको वर्चस्व कायमै छ। एक नेताले नाम नबताउने सर्तमा भने, “युवाहरूले जति चिच्याए पनि टिकट त ‘पावरवाला’कै पोल्टामा पर्छ।”
केन्द्रीय समितिले पठाएको सर्कुलरअनुसार मंसिर २३ भित्र क्षेत्रीय समितिले नाम जिल्लामा र मंसिर २६ भित्र जिल्लाले प्रदेशमा पठाइसक्नुपर्नेछ। सर्वसम्मत नभए कम्तीमा एक महिला एकजना सहित ३ जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ।
कोशी प्रदेश उपसभापति रमेशजंग रायमाझीले भने, “माघ ११ को राष्ट्रियसभा र फागुन २१ को प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी सिफारिस प्रक्रिया सुरु भइसकेको छ। तोकिएकै मितिभित्र सबै नाम प्रदेशमा पुग्छ।”
यसैबीच निवर्तमान प्रमुख सचेतक श्याम घिमिरे, सचेतक सुशीला थिङ, दीपक खड्कालगायत नेताहरू हिजो सर्वोच्च अदालत पुगेर प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै रिट दायर गरेका छन्।
कांग्रेसभित्र एकातिर संसद् फर्काउने कानुनी लडाइँ, अर्कोतिर टिकटको आन्तरिक लडाइँ एकसाथ चलेको छ।