काठमाडौं। बरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले नेपाली कांग्रेसको आगामी महाधिवेशनले लोकतान्त्रिक संस्कृति बचाउन सके मात्र पार्टीमा अर्थपूर्ण परिवर्तन आउने बताएका छन्।
विकास टाईम्ससँग कुराकानी गर्दै दाहालले महाधिवेशनले नेतृत्वमा ल्याउने अनुहारको परिवर्तनको कुनै अर्थ र मुल्य नहुने बताएका हुन्।
‘नेतृत्वको अनुहारमा आएको परिवर्तनको कुनै अर्थ हुँदैन। कुनै उमेर वा उमेर समूहको पनि अर्थ हुँदैन’, बरिष्ठ पत्रकार दाहालको प्रश्न थियो, ‘कांग्रेसको महाधिवेशनले परिवर्तन के मा ल्याउने? प्रबृत्तिमा, व्यवहारमा वा आचरणमा?’
उनले लोकतान्त्रिक संस्कृतिलाई बचाउन सक्ने क्षमता, विधि व्यवहार जोगाउने र जोडिन सक्ने व्यवहार तथा आफ्नो व्यवहारलाई जनतासँग जोडिने पक्षमा महाधिवेशनले निर्णय गर्न सक्छ कि सक्दैन भन्ने कुरा महत्वपूर्ण पक्ष भएको बताए।
बरिष्ठ पत्रकार दाहालले कुनै उमेर समूहको व्यक्तिले नेतृत्व लिए पनि पार्टीलाई त्यसले तात्विक भिन्नता नपार्ने जनाए। उनको प्रश्न थियो ‘चरित्र, व्यवहार, सिद्धान्त, लगावको हिसावले र स्वार्थरहित ढंगले प्रतिष्ठाका लागि लाग्ने व्यक्ति कांग्रेसमा को छ र?’
उनले कांग्रेसको नेतृत्व लिन चाहने व्यक्तित्वहरु कृष्णप्रसाद सिटौला, बिमलेन्द्र निधि, पूर्णबहादुर खड्का, डा. शेखर कोइरालालाई आफूले एउटा बेग्लै ढंगले सम्मान गर्ने गरेको भन्दै सभपातिको दाबी गर्ने गगन थापासहितका कसैको पनि पक्ष नलिएको जनाए।
उनले भने, ‘जसले लोकतान्त्रिक आचरण र संस्कृतिलाई निर्वाह गर्न सक्नुहुन्छ उहाँहरुमध्ये जो नेतृत्वमा गए पनि हामी जस्तो ५० वर्ष लोकतान्त्रिक आन्दोलनमा गरेको लगानी सार्थक हुने छ।’
जेनजी आन्दोलनका बिनासको जिम्मेवारी कसले लिने?
अर्को एक प्रसंगमा दाहालले जेनजी आन्दोलनका क्रममा देखिएका हिंसा वा प्रतिहिंसाको दुष्परिणामहरु देखिन थालेको तर यसको जिम्मेवारी कसैले नलिएको बताए।
उनले जेनजी आन्दोलनको माग र बिध्वंसलाई एउटै घटनाको रुपमा एउटै हो भन्न नमिल्ने दाबी गरे। दाहालको प्रश्न थियो ‘जेनजी आन्दोलनको उपलब्धी के लाई मान्ने? आन्दोलन मैले गरेको हो भनेर जस लिने कसैले पनि विध्वंस र राष्ट्रका सम्पति तथा अभिलेख जलेको जिम्मेवारी लिनु पर्दैन?’
श्रीलङ्का, बंगलादेशमा आन्दोलनको नेतृत्व र गाईड गर्ने शक्ति राजनीतिक भए पनि नेपालमा जेनजी आन्दोलन अन्धकारमा दिएका निर्देशनबाट संचालित भएको उनको दाबी थियो।
दाहालले जेनजी आन्दोलनको अध्ययन सरकारले गठन गरेको न्यायीय समितिले तीन महिना भित्रमा सम्भव नहुने भन्दै यसको बृहत अध्ययन अझ बढी समय लगाएर गर्नु पर्ने सुझाव दिए ।
जेन्जी आन्दोलन कुनै व्यक्ति विशेषलाई लक्षित नभएर पुराना दलहरु नेपाली कांग्रेस र नेकपा एमालेमाथि केन्द्रीत भएको उनले बताए।
निर्वाचनको बिकल्प संसद पुनर्स्थापना
दाहालले आगामी फागुन २१ गते निर्वाचन नभए संविधान ट्रयाकबाट वाहिर जानसक्ने चेतावनी दिए । राष्ट्रपति वा सेनाले सहयोग गरेर भने पनि अहिले संविधान वाँचेकोले निर्वाचन भएन भनेसंसद पुनर्स्थापना एउटा विकल्प हुन सक्ने सुझाए ।
उनले पुनर्स्थापित संसदले पनि संकटको निकास दिन नसक्ने भन्दै दाहालले त्यो संसदले काम गर्न पाएन भने वा संविधान संशोधनको दबाब आउन सक्ने बताए।
उनले भने, ‘संविधान परिवर्तन भन्ने वित्तिकै धर्मको कुरा र गणतन्त्र नै चाहिँदैन भन्ने आवाज वा दबाब पनि आउन सक्छ। त्यसैले उत्तम उपाय भनेको त निर्वाचन नै हो । फागुन २१ गते निर्वाचन हुन्छ कि हुँदैन भन्ने कुरा कि सरकारलाई या दलहरुलाई थाहा होला।’

प्रतिक्रिया