एमालेभित्र लोकतान्त्रिक प्रक्रिया अवरुद्ध भएको छ : सुरेन्द्र पाण्डे

एमालेभित्र लोकतान्त्रिक प्रक्रिया अवरुद्ध भएको छ : सुरेन्द्र पाण्डे


काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमालेभित्रको लोकतान्त्रिक प्रक्रिया अवरुद्ध गरेको आरोप लगाएका छन् । शुक्रबार ईश्वर पोखरेल समूहका युवा नेताहरूले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता पाण्डेले यस्तो बताएका हुन् । उनले प्रतिस्पर्धाद्वारा श्रेष्ठता हासिल गर्ने जबजको मूल मान्यताको समेत ओलीले बेवास्ता गरेको बताए ।

‘यो महाधिवेशनमा हामीले ईश्वर पोखरेलको नेतृत्वमा प्रतिस्पर्धा गर्दैछौँ’, पाण्डेले भने, ‘नेकपा एमाले जब २०४६ पछि सार्वजनिक राजनीतिक मञ्चमा उभिएसँगै अब एमाले खोपाको देउता नभई नेता जनता र पार्टी सदस्यताबाट अनुमोदित हुनुपर्छ, यसैलाई हामीले जनताको बहुदलीय जनवाद भन्यौ ।’

सोही प्रक्रिया अन्तर्गत अध्यक्ष केपी शर्मा ओलीले आठौँ महाधिवेशनमा पेस गरेको प्रस्तावमा एक व्यक्ति दुई पटक भन्दा बढी प्रमुख हुन नहुने व्यवस्था र ७० वर्ष उमेरभन्दा बढी नेतृत्वमा नबस्ने भनेर विधान बनाइएको बताए । त्यसक्रममा धेरै नेता एमालेबाट समेत बिदा भएको भन्दै ओलीले समेत नवौँ महाधिवेशनमा आफूले कक्षा नदोहोर्‍याउने र एक पटक नेतृत्व गर्ने घोषणा गरे पनि आज सोही घोषणा र पार्टी विधानकै उल्लङ्घन गरेको पाण्डेले बताए ।

‘त्यो विधानको व्यवस्था हटाएर हाम्रो पार्टी आफैँले आरम्भ गरेको लोकतान्त्रिक बाटोलाई अवरोध पुर्‍याउने काम भइरहेको छ’, पाण्डेले भने, ‘हामी यो व्यवस्थालाई पुनर्स्थापित गर्दै लोकतान्त्रिक बाटोमा हिँडाउन चाहन्छौँ । त्यसैका लागि लडाइँ गरिरहेका छौँ ।’

पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यताका सवालमा पनि ओलीले पहिला मिल्छ भनेको र पछि हुँदैन भनेको पाण्डेले बताए । ‘त्यसैले हामीले भनिरहेका छौँ, अध्यक्ष कमरेड तपाईँ आफैँले भनेको विचारमा उभिनुस्’, पाण्डेले भने, ‘२ टर्म र पार्टी सदस्यताको विषयलाई बखेडाको विषय नबनाऔँ भनेर हामीले यही आग्रह गरेका छौँ’ उनले महाधिवेशन प्रतिनिधिहरूले समेत यस विषयमा सोच्ने बताए ।

नेता पाण्डेले यस महाधिवेशनबाट कमसेकम २० प्रतिशत युवाहरू समेत केन्द्रीय कमिटीमा ल्याउन आफूहरूले लडाइँ गरिरहेको भन्दै युवाको शक्तिविना अब पार्टी राम्रोसँग चल्न नसक्ने बताए । पाण्डेले नेताहरूले पाटीमा नाम टाँसेर कमिटी बनाउने प्रवृत्ति हुर्किएकाले त्यसलाई विस्थापित गर्दै कार्यकर्ताबाटै नेता छान्ने प्रवृत्तिको विकास गर्न सक्नुपर्ने बताए ।

कार्यक्रममा युवा नेताहरू सुमन पुरी, प्रकाश पौडेल, राजेश राईलगायतले एमालेमा जिम्मेवार नेतृत्व चाहिएको भन्दै अहिलेको ओलीको जस्तो नेतृत्व नचाहिने बताए ।