नुवाकोट-१ बाट चुनाव लड्ने काँग्रेस प्रवक्ता महतको घोषणा

नुवाकोट-१ बाट चुनाव लड्ने काँग्रेस प्रवक्ता महतको घोषणा


काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नुवाकोट-१ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिने बताएका छन् ।

काठमाडौँ-५ र नुवाकोट-१ का क्षेत्रीय कार्यसमितिले प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरेपछि उनले गृहजिल्ला नुवाकोटबाट उम्मेदवारी दिने बताएका हुन् ।

महाराजगञ्जमा शुक्रबार बिहान पत्रकारहरूसँगको छलफलका क्रममा प्रवक्ता महतले भने, ‘नुवाकोट–१ बाट निर्वाचन लड्छु । क्षेत्रीय समितिले सर्वसम्मत एकल सिफारिस गरिसकेको छ । काठमाडौँ-५ बाट पनि साथीहरूले सिफारिस गरिदिनुभएको छ ।’

नुवाकोट-१ क्षेत्रीय कार्यसमितिले बिहीबार प्रवक्ता महतको नाम एकल सिफारिस गर्ने निर्णय गरेको थियो । तयसअघि उनको नाम काठमाडौँ–५ बाट प्रत्यक्षतर्फ सिफारिस भएको थियो ।

प्रवक्ता महतले फरक प्रसंगमा कुरा गर्दै पार्टीको आसन्न महाधिवेशनमा संस्थापन समूहबाट सभापतिमा आफ्नो दाबी रहेको पनि बताए ।

‘१५औँ महाधिवेशनमा सभापतिमा मेरो दाबी रहन्छ । सभापतिज्यूसँग नजिक रहेर लामो समय काम गर्दै आएको छु,’ प्रवक्ता महतले भने, ‘उहाँसँग जोडिएका देशभरका नेता–कार्यकर्तासँग मेरो अट्याचमेन्ट छ ।’

उनले समूहबाट अन्य नेताहरूको पनि सभापतिमा दाबी रहेकाले उम्मेदवार को बन्ने भन्नेबारे छलफल चलिरहेको पनि बताए । संस्थापन समूहबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित अन्य छ जना पूर्वपदाधिकारीहरू पनि सभापतिको आकांक्षी छन् ।

खड्काबाहेकका आकांक्षी पूर्वपदाधिकारीहरू र प्रवक्ता महत एकसाथ छन् । ‘सात भाइ’ का नामले चिनिने समूहमा नेताहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, डा. शशांक कोइराला, गोपालमान श्रेष्ठ र प्रकाशमान सिंह र प्रवक्ता महत छन् ।

उनीहरू प्राय: सभापतिका आकांक्षी हुन् । प्रवक्ता महतले आंकाक्षीमध्ये कुनै एक जना उम्मेदवार हुने बताए । उनले आकांक्षीमध्ये एक जना उम्मेदवार बनाउनका लागि समूहमा अधिकतम प्रयास गरिने पनि बताए ।