काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री बद्री प्रसाद पाण्डेले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन्। २०७९ सालको निर्वाचनमा बाजुरा–१ बाट भारी मतान्तरले विजयी भएका पाण्डेले यो पटक चुनावी प्रतिस्पर्धाबाट अलग रहने निर्णय लिएका हुन्। उनको नाम पार्टीबाट कुनै पनि तहको उम्मेदवार सिफारिसमा परेको छैन।
पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका पाण्डेले नयाँ पुस्तालाई अवसर दिन आफू पछि हट्ने निष्कर्षमा पुगेको बताएका छन्। सञ्चारकर्मीसंग कुरा गर्दै उनले भने, “म सांसद र मन्त्री दुवै भइसकेँ। अब नयाँ पुस्तालाई अवसर दिनुपर्छ भन्ने ठानेर चुनाव नलड्ने निर्णय गरेँ।”
उनले प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक दुवैतर्फ तथा राष्ट्रिय सभाको पनि उम्मेदवारी इच्छा नरहेको स्पष्ट पारे। अब पार्टीको वैचारिक सुदृढीकरण र संगठनलाई सक्रिय बनाउने काममा आफू केन्द्रित हुने उनको भनाइ छ।

प्रतिक्रिया