काठमाडौं। नेपाली काग्रेसका युवा नेता तथा नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष महेन्द्र शर्माले नेपाली कांग्रेसको आगामी महाधिवेशनबाट नेतृत्व लिएर पार्टीलाई गतिशिल बनाउन नेता डा.शेखर कोइरालाले सार्थक पहल गर्नु पर्ने बताएका छन्।
आगामी पुस अन्तिम साता हुने नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनमा कोइराला परिवारका सदस्यहरु पूर्वमहामन्त्री डा.शसांक कोइराला र पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाको समेत साथ, सहयोग र समर्थनमा डा. शेखरले यस्तो पहल गर्नु पर्ने बताएका हुन्।
‘पार्टीको १४औं महाधिवेशनमा नै कोइराला परिवारका सदस्यहरु एकै ठाउँमा हुनु पर्दथ्यो, अब १५औं महाधिवेशनमा उहाँहरु एकै ठाउँमा हुनु पर्छ भने पार्टीका आमकार्यकर्ताको चाहना हो’, नेता शर्माले विकास टाईम्ससँगको कुराकानीमा भने, ‘कोइरालाहरुको एकता नै पार्टीको ताकत (स्ट्रेन्थ) हो।’
शर्माले विगत र अहिले पनि डा.शेखरको समूहमा बसेर काम गरिरहका साथिहरुलाई एकीकृत गरेर अघि बढ्नु पर्ने भन्दै नेता डा.शेखर र महामन्त्री गगनकुमार थापाको विचार पार्टी भित्र र वाहिर खासै फरक नभएको दाबी गरे।
उनले भने, ‘पार्टीले गर्ने निर्णय प्रक्रियाका मुख्य मुख्य पक्षमा उहाँहरु बीच एउटै योजना, कार्यक्रम र निर्णयमा एकताबद्ध भएर अघि बढेको पाइन्छ। नयाँ योजना लिएर जाने सवालमा अहिले केही फरक हो कि जस्तो देखिएको मात्रै हो।’
नेता डा.शेखर र महामन्त्री थापाबीच अहिले पनि कुराकानी भइरहेको आफूले बुझेको भन्दै शर्माले भने, ‘उहाँका विचार र कार्यक्रमहरु उपयुक्त छन् । अब त्यसलाई कार्यान्वयका लागि सार्थक पहल गर्नु पर्ने देखिन्छ।’
अहिलेको नेतृत्व प्रभावकारी भएन
नेता शर्माले भने,‘पार्टीको वर्तमान कार्यसमितिले जुन प्रभावकारी ढंगले काम गर्नु पर्दथ्यो, त्यो सकेन । महाधिवेशनको लागि एकदमै छोटो अवधिको कार्यतलिका छ। अहिले क्रियाशिल सदस्यता नविकरण र नयाँ सदस्यताको वितरण भएको छैन, गाउँतिर फारम नै गएकै छैन । त्यसैले सदस्यता व्यवस्थापनमा देखिएको समस्याले महाधिवेशनको क्यालेण्डरलाई ‘मीट’ गर्दैन कि भन्ने संशय देखाएको छ ।’
पार्टी सभापति शेरबहादुर देउवाले उम्मेदवार नदिने भएपछि वाँकी अरु नेताहरु सबै दोश्रो पुस्ताकाबीच नै नेतृत्वका लागि प्रतिष्पर्धा हुने उनले बताए।
शर्माले पार्टी सभापति देउवा नेतृत्वको संस्थापन पक्ष र इत्तर समूहका नेता डा.शेखरको समूहमा पनि त्यो ध्रुविकरण हुने दाबी गरे।
महाधिवेशनमा मेरो उम्मेदवारी
पार्टीको महाधिवेशनमा हाम्रो एजेण्डालाई साथ सहयोग र समर्थन गर्ने साथिहरुको सल्लाहमा आफूले उम्मेदवारी दिने शर्माले घोषणा गरे।
पार्टीको १४औं महाधिवेशनमा नेता डा.शेखरको टिमबाटै चुनाव लडेको स्पष्ट पार्दै उनले अहिले आफू जस्तो धेरै नेता–कार्यकर्ताको सोच नै परिवर्तित सन्दर्भमा लोकतान्त्रिक व्यवहार र विचार दिन सक्ने तथा समस्या र चुनौतिलाई संवोधन गर्ने कांग्रेस बनाउन आफूहरु अघि बढेको बताए।
पार्टी भित्र र वाहिरका शुभेच्छुकहरुले मेरो उम्मेदवारी होस भनेर माग गरिरहेको दाबी गर्दै शर्माले भने, ‘प्रतिनिधि सभाको विगतको निर्वाचनमा मेरो उम्मेदवारी होस भन्ने साथिहरुको चाहना र अपेक्षा थियो। तर राजनीतिमा एउटा दाउपेच हुँदो रहेछ, त्यो दाउपेचको म शिकार भएँ।’
गत प्रतिनिधि सभाको निर्वाचनमा मलाई उम्मेदवार नबनाएर अन्याय गरेको कुरा पार्टी कार्याकर्ताहरुले गरेकाले अहिले केन्द्रीय नेतृत्वले आफूलाई अवसर दिने शर्माले विश्वास व्यक्त गरे।

प्रतिक्रिया