महासचिव पदका  नेताबीचको विवादले एमाले अध्यक्ष ओली तनावमा

महासचिव पदका  नेताबीचको विवादले एमाले अध्यक्ष ओली तनावमा


काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन चलिरहेका बेला पार्टीको शीर्ष नेतृत्व चयनमा देखिएको विवादले अध्यक्ष केपी शर्मा ओलीलाई तनावग्रस्त बनाएको छ । विशेष गरी महासचिव पदका तीन आकांक्षीबीचको अडानका कारण सहमति जुट्न नसक्दा ओली दबाबमा परेका हुन् । महाधिवेशनको उद्घाटन सत्र सकिएलगत्तै शनिबार बेलुका अध्यक्ष ओलीले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङलाई गुण्डुस्थित आफ्नो निवासमा बोलाएका थिए । तीनै जना महासचिव पदका बलिया दाबेदार हुन् । लामो छलफलका बाबजुद उनीहरूले आफ्नो अडान नछोडेपछि सहमति हुन नसकेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार गुण्डुमा करिब ४ घण्टा चलेको छलफलमा शंकर पोखरेलले कुनै हालतमा महासचिवको उम्मेदवारीबाट पछि नहट्ने अडान राखे । जवाफमा पृथ्वीसुब्बा गुरुङले पोखरेलले एक कार्यकाल महासचिव भइसकेकाले यो पटक आफूलाई छाड्नुपर्ने तर्क गरे । प्रदीप ज्ञवालीले भने दुवै जना अन्य पदमा प्रतिस्पर्धा गरेर आफूलाई महासचिव बनाउन प्रस्ताव राखेका थिए ।   ‘तीनै जनाले अध्यक्ष सामु महासचिवमा दाबी छाड्नुभएन,’ गुण्डु स्रोतले भन्यो, ‘पृथ्वीसुब्बाजीले शंकरजीलाई कुनै हालतमा स्वीकार्न नसकिने बताउनुभयो ।
महासचिव पद टुङ्गो नलागेसम्म अन्य पदाधिकारी मिलाउन नसकिने बताउँदै ओलीले उपाध्यक्षमा रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल र गुरु बराललाई नै निरन्तरता दिने संकेत गरेका छन् । उपमहासचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णु रिमाललाई दोहोर्‍याउने तथा सचिवमा चार नयाँ अनुहारसहित तीन पुरानालाई स्थान दिने ओलीको तयारी छ । यता, ईश्वर पोखरेल समूहले छुट्टै प्यानल बनाएर चुनाव लड्ने तयारी गरेपछि ओलीलाई आफ्नै समूहका नेताहरूको व्यवस्थापन गर्न कठिन भएको छ । तीन आकांक्षीबीचको विवादले सहमति नजुटेपछि आज बिहान साढे ७ बजेबाट सुरु हुने भनिएको बन्दसत्र नै प्रभावित बनेको छ । बन्दसत्रअघि ओलीले भृकुटीमण्डपमा केन्द्रीय कमिटी बैठक बोलाएका छन्, जहाँ विधान संशोधन वा सहमतिमा नेतृत्व चयनको प्रस्ताव अघि बढाउन सक्ने अनुमान गरिएको छ ।