काठमाडौं। गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएका घटनासम्बन्धी जाँचबुझ गर्न गठन भएको न्यायीक आयोगले आफ्नो कार्यकाल एक महिना थप गर्न सरकारसँग आग्रह गरेको छ।
प्रधानमन्त्री सुशीला कार्कीसँग बुधबार सिंहदरबारमा भएको भेटमा आयोगका पदाधिकारीहरूले म्याद थपको माग गरेका हुन्।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा असोज ५ गते गठन भएको न्यायीक जाँचबुझ आयोगको म्याद सकिन लाग्दा बयान लिने प्रक्रिया अझै जारी रहेकाले थप समय आवश्यक भएको आयोगले जनाएको छ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले कार्य सम्पादनका लागि थप समय आवश्यक भएको भन्दै प्रधानमन्त्री कार्कीसँग आग्रह गरेपछि प्रधानमन्त्री कार्कीले समय थप गर्ने जानकारी दिएकी छिन्।
प्रधानमन्त्री कार्कीले अर्को हप्ता पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्री र अन्य राजनीतिक दलका नेताहरूलाई बयानका लागि बोलाउने तयारी भइरहेको पनि उल्लेख गरेकी छिन्।
जाँचबुझ आयोगले जेनजी घटनासम्बन्धी सुरक्षा र प्रशासनका उच्च अधिकारीहरूको बयान लिइसकेको छ। असोज ५ गते तीन महिनाको म्यादसहित गठन भएको आयोगले असोज ९ गतेदेखि कार्यप्रारम्भ गरेको थियो। आयोगको प्रारम्भिक म्याद यही पुस ९ गते सकिँदै थियो।

प्रतिक्रिया