मुस्ताङ ।
मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोममा चिसो बढेसँगै स्थानीयबासीहरू दाउरा संकलनमा व्यस्त भएका छन्। जङ्गलबाट सुकेका दाउरा टिप्नका लागि एक साताको लागि फुकुवा गरिएको छ। घरपझोम गाउँपालिका–४ र जोमसोम एक्याप (समुदाय वन उपभोक्ता समूह) संरक्षण तथा व्यवस्थापन समितिको संयुक्त निर्णयअनुसार आजदेखि एक सातासम्म (१२ पुससम्म) जोमसोम लेकको जङ्गलमा सुकेका दाउरा टिप्न पाइने भएको हो।
स्थानीयहरूले पशु चौपायामा भारि बोकेर वा आफैं बोकेर दाउरा जम्मा गरिरहेका छन्। जोमसोमका बासिन्दा तारापति गुरुङ भन्छन्, “यो समयमा दाउरा नजुटाए हामी चिसोमा बस्नै गाह्रो हुन्छ। एक साताको फुकुवाले धेरै राहत भएको छ।”
मुस्ताङका उच्च हिमाली गाउँहरूमा गुइँठा र दाउरा नै मुख्य इन्धनका स्रोत हुन्। विशेष गरी सर्दीको समयमा दाउरा संकलनको अनुमति निकै महत्त्वपूर्ण हुन्छ। यो फुकुवासँगै स्थानीयहरूले आफ्नो एक वर्षको आवश्यकता पूरा गर्ने आशा गरेका छन्।
यसैगरी, घरपझोङ गाउँपालिकाले अन्य वडाहरूमा पनि क्रमशः दाउरा टिप्न फुकुवा गर्ने तयारी गरेको जनाएको छ।

प्रतिक्रिया