एमालेसँग सहकार्यबारे कुनै छलफल नै नभएको विप्लव’को प्रष्टीकरण

एमालेसँग सहकार्यबारे कुनै छलफल नै नभएको विप्लव’को प्रष्टीकरण


काठमाडौँ । नेकपा माओवादीमा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एमालेसँग सहकार्यबारे कुनै छलफल नै नभएको प्रष्टीकरण दिएका छन्।

पार्टीको नवौँ केन्द्रीय समितिको चौथौँ विशेष बैठकमा बोल्दै सर्वपक्षीय सरकारको विषयमा मात्रै एमाले र आफूहरूको मुद्दा मिलेको उनको तर्क छ।

उनले भने, ‘सर्वपक्षीय सरकारको विषयमा दृष्टिकोण मिलेको हो। दृष्टिकोणको विषयमा त जोसुकैसँग कुनै बेला मिल्न सक्छ। दृष्टिकोण मिल्दा सहकार्यको सम्भावना पनि हुनसक्छ तर अहिले एमालेसँग मात्रै कुनै छलफल चलेर सहमति भइसकेको स्थिति होइन। सल्लाघारीको सम्बोधनलाई लिएर अनेक कुरा आयो। त्यहाँ पनि हामीले पात्रको बारेमा होइन, कम्युनिस्ट आन्दोलनको बारेमा कुरा गरेको हुँ।’

उनले कम्युनिस्ट पार्टीहरूबिच एकता हुनुपर्छ भनेर प्रस्ताव अघि सार्ने नै आफ्नो पार्टी भएको जिकिर गरे। नयाँ कम्युनिस्ट केन्द्र निर्माण गर्नुपर्ने ठाउँमा भएकै पार्टी खप्टाउने र जेन जेड आन्दोलनपछि हतारो गरेकाले प्रचण्डसँग मिल्न नसकेको बताए।

उनले थपे, ‘समाजवादी मोर्चामार्फत देशको मुद्दा अघि बढाउन अहिले पनि हामी तयार नै हो। अहिले पनि सधैँको लागि सिद्धि सक्यो भन्ने होइन। माओवादी आन्दोलन अहिले पनि ठुलो कठघरामै छ। त्यस्ता विषयको जवाफ दिने गरी एकता गर्नुपर्छ।’

नेपाली कम्युनिस्ट पार्टीसँग एकताको लागि पदको भन्दा पनि अन्य कुरा नमिलेपछि पछि हटेको उनको भनाइ छ।