नयाँपन दिनसक्ने सक्षम नेतृत्वको समूहमा महामन्त्री पदमा उम्मेदवारी दिने पौडेलको घोषणा

नयाँपन दिनसक्ने सक्षम नेतृत्वको समूहमा महामन्त्री पदमा उम्मेदवारी दिने पौडेलको घोषणा


काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशन महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सञ्चारकर्मीसँगको भेटघाटमा उनले १४औँ महाधिवेशनमा आफूले महामन्त्रीमा प्रतिस्पर्धा गरे पनि सफलता प्राप्त नभएको अवगत गराउँदै आगामी महाधिवेशनमा पनि महामन्त्रीमै भिड्ने औपचारिक घोषणा गरेका हुन् ।

कुन समूहबाट उम्मेदवारी हुन्छ भन्ने जिज्ञासामा उनले भने, ‘महामन्त्रीको उम्मेदवार सभापतिसहितको समूहबाट हुने पार्टीमा अभ्यास छ, अहिले यही समूह भन्ने निश्चित त भइसकेको छैन, तर मुलुकको वर्तमान परिस्थिति र जनताको भावनाअनुसार पार्टीमा नयाँपन दिनसक्ने सक्षम नेतृत्वसहितको समूह हुन्छ ।’ पौडेलले महाधिवेशन सम्पन्न गरेर मात्र कांग्रेस नयाँ नेतृत्वका साथ आमनिर्वाचनमा जानुपर्ने बताए ।

महाधिवेशनबाट नयाँ नेतृत्व, जेन(जी आन्दोलनको भावनाअनुसारको नीति र पार्टीलाई चलायमान बनाई पार्टी निर्वाचनमा होमिनुपर्नेमा उनको जोड छ । कांग्रेसले यही पुस २६-२९ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ । तर, हाल तोकिएको मितिमा महाधिवशेनको कार्यतालिका प्रभावित भएपछि समय अभावका कारण महाधिवेशन केही पर धकेलिने निश्चित देखिएको छ । यही प्रसंगमा नेता पौडेलले पार्टीका आठ तहका निर्वाचनमध्ये हाललाई तीन तहका निर्वाचन सम्पन्न गरेर भएपनि १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने सुझाव दिएका छन् ।