कार्यतालिका हेरफेरपछि कांग्रेसको बिशेष महाधिवेशन तयारीमा महामन्त्री थापा

कार्यतालिका हेरफेरपछि कांग्रेसको बिशेष महाधिवेशन तयारीमा महामन्त्री थापा

पुस १७ गते तयारी बैठक र पुस २६ देखि २८ गतेसम्म बिशेष महाधिवेशन आयोजना


काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने प्रयास भएपछि पार्टीभित्र विवाद चर्किएको छ। संस्थापन पक्षले सार्वजनिक कार्यतालिकामा परिवर्तन गर्न खोजेपछि महामन्त्री गगन थापाले नियमित महाधिवेशन नहुने अवस्था आए तत्काल विशेष महाधिवेशन आयोजना गर्नुपर्ने माग राखेका छन्।

केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकमा महामन्त्री थापाले यो माग अघि सारेका हुन्। उनले कार्यतालिका अनुसार नियमित महाधिवेशन सम्भव नदेखिए विशेष महाधिवेशनको विकल्पमा जानुपर्ने अडान लिएका छन्। यसअघि केन्द्रीय कार्यसमितिले पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा १५औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको थियो। तर, क्रियाशील सदस्यता नवीकरण र अन्य तयारीमा ढिलाइ भएपछि कार्यतालिका संशोधनको माग उठेको छ।

बिशेष महाधिवेशनपक्षधर नेता गुरु घिमिरेले आज केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा स्मरण पत्र दिएको जानकारी गराए । उनले भने -” नियमित महधिबेशन हुने कुनै छाँट देखिएन अब विशेष महाधिवेशनको तयारी गर्नुको बिकल्प छैन ।” उनले मितिका बारेमा छलफल भएको तर टुङ्गो नलागेको जानकारी दिए ।

स्मरण पत्र देवराज चालिसे, सुवाष पोखरेल सहितका नेताहरुले काँग्रेसका मुख्य सचिव कृष्ण पौडेल बुझाएका थिए । त्यो स्मरण पत्र महामन्त्री द्धयलाई समेत बोधार्थ दिएको छ । महामन्त्री थापाले आजैको कार्य सम्पादन समितिको बैठकमा प्रस्तावका रुपमा जाने बताए ।

श्रोतका अनुसार विशेष महाधिवेशनको तयारी स्वरूप पुस १७ गते तयारी बैठक र पुस २६ देखि २८ गतेसम्म बिशेष महाधिवेशन आयोजना गर्ने योजना बनेको छ। पार्टीभित्र संस्थापन पक्ष र इतर पक्ष ९महामन्त्री थापा, विश्वप्रकाश शर्मा लगायत०बीच महाधिवेशनको मोडालिटी र समयबारे लामो समयदेखि मतभेद छ। यसअघि पनि विशेष महाधिवेशनको हस्ताक्षर संकलन भएको र नियमित महाधिवेशन समयमै नभए विशेषमा जाने चेतावनी दिइएको थियो।

कांग्रेसले आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअघि नयाँ नेतृत्व चयन गरेर जाने प्रयास गरिरहेको छ। तर, तयारीमा देखिएको ढिलाइले महाधिवेशन अनिश्चित बन्दै गएको छ। पार्टी प्रवक्ता प्रकाशशरण महतले कार्यसम्पादन समितिको बैठकमा छलफल जारी रहेको र व्यवहारिक कार्यतालिका बनाउने प्रयास भइरहेको बताएका छन्।