काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीभित्र बृहत् एकता कायम गर्ने महत्वपूर्ण निर्णयहरू गरेको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले विगतका निर्वाचनमा अनुशासन उल्लंघन गर्नेहरूमाथि भएको कारबाहीको बाँकी अवधि माफी दिँदै क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय गरेको हो। वरिष्ठ नेता डा। शेखर कोइरालाको लामो समयदेखिको सभापति शेर बहादुर देउवासंग कार्वही फुकुवाको माग गर्दै आएका थिए । डा कोइरालाको माग र चट्टानी अडानले नै अन्यायमा परेका साथीहरुको कार्वही फुकुवा भएको एक नेताले बताए ।
बैठकपछि जारी विज्ञप्तिमा वर्तमान विकसित राजनीतिक अवस्था र आसन्न प्रतिनिधिसभा तथा राष्ट्रियसभाको निर्वाचनलाई मध्यनजर गर्दै पार्टीमा सुसंगठित र एकताबद्ध बनाउने उद्देश्यले यो कदम चालिएको उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, “संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको दिगो विकास र संविधानको रक्षाका लागि राष्ट्रिय दायित्व पूरा गर्न पार्टीभित्र अनुशासन उल्लंघन नगर्न सचेत गराउँदै कारबाही माफी दिइएको हो।”
बैठकले तीन प्रमुख निर्णय गरेको छ। पहिलो, विगतका निर्वाचनमा पार्टीका आधिकारिक वा समर्थित उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका, प्रस्तावकरसमर्थक बनेका वा असहयोग गर्नेहरूमाथि केन्द्रीय अनुशासन समितिले गरेको निष्कासन, निलम्बन वा विधानअनुसार स्वतः कारबाहीको बाँकी अवधि मिनाहा गर्ने। यस्ता व्यक्तिहरूको क्रियाशील सदस्यता निरन्तरता दिई नवीकरण गर्ने पनि निर्णय भएको छ। यो निर्णयले पार्टीभित्र लामो समयदेखि चलेको आन्तरिक कलहलाई मत्थर पार्दै आसन्न निर्वाचनमा एकताबद्ध रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।
दोस्रो निर्णयअनुसार, विभिन्न कारणले पार्टी परित्याग गरेर स्वतन्त्र बनेका वा अन्य दलमा गएका नेता–कार्यकर्तालाई कांग्रेसमा फर्कन हार्दिक आह्वान गरिएको छ। फर्कनेहरूलाई क्रियाशील सदस्यतासहित आवश्यक जिम्मेवारी प्रदान गर्ने बैठकले प्रतिबद्धता जनाएको छ। यो आह्वानले पार्टी छोडेका पुराना साथीहरूलाई घर फर्काउने र संगठनलाई थप बलियो बनाउने लक्ष्य राखेको देखिन्छ।
तेस्रो, विभिन्न पेशा, व्यवसाय र क्षेत्रमा सक्रिय लोकतान्त्रिक विचारधारा भएका बौद्धिक तथा व्यवसायिक व्यक्तित्वहरूलाई नेपाली कांग्रेसमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरिएको छ। वर्तमान परिस्थितिमा पार्टी, लोकतन्त्र र मुलुकको हितका लागि विशेष संवाद र सहकार्य गर्दै अघि बढ्ने निर्णय पनि बैठकले गरेको विज्ञप्तिमा उल्लेख छ। यसले कांग्रेसलाई नयाँ ऊर्जा र विचार थप्ने विश्वास गरिएको छ।
यसबाहेक, बैठकले समानुपातिकतर्फ ११० जना उम्मेदवारको मापदण्ड सूची तयार पार्ने प्रक्रिया सुरु गरेको जनाइएको छ। कांग्रेसको अर्को कार्यसम्पादन समिति बैठक आइतबार बिहान ११ बजे बस्ने बताइएको छ।

प्रतिक्रिया