आउदै मीड सोलु हाइड्रोको आइपिओ, कहिले सम्म दिन सकिन्छ आवेदन ?

आउदै मीड सोलु हाइड्रोको आइपिओ, कहिले सम्म दिन सकिन्छ आवेदन ?


काठमाडौं ।

मीड सोलु हाइड्रोपावरले भदौ २८ गतेदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गर्ने भएको छ ।

सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँको दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर जारी गर्न लागेको हो ।

सर्वसाधारणलाई छुट्याएको ७ लाख ४८ हजार ४०० कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा गएका नेपालीहरु ७४ हजार ८४० कित्ता सेयर बाँडफाँट गरिसकेको छ ।

यस्तै, कम्पनीका कर्मचारीहरुलाई १४ हजार ९६८ कित्ता र म्युचुअल फन्डलाई ३७ हजार ४२० कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई खुला गर्न लागिएको हो ।

यस आइपिओमा असोज १ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयसम्म सबै सेयर बिक्री नभएमा भने असोज ११ गतेसम्म खुला रहनेछ ।

न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जानकारी गराएको छ ।

यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर एपमार्फत आवेदन दिन सकिनेछ । क्रेडिट रेटिंग संस्था इक्रा नेपालले यस कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जानाउने ‘इक्रा एनपी डबल बी प्लस इस्यूअर रेटिंग’ प्रदान गरेको छ ।

कम्पनीले सोलुखुम्बु जिल्लामा ९.५ मेगावाट क्षमताको ‘मध्य सोलु खोला जलविद्युत आयोजना’ निर्माण सम्पन्न गरी २०७९ पुस १५ गतेदेखि नियमित विद्यतु उत्पादन गर्दै आएको जानकारी गराएको छ ।

आयोजनाको कुल अनुमानित २ अर्ब ८ करोड ४१ लाख रुपैयाँ (निर्माण अवधिको ब्याजसहित) रहेको छ भने प्रतिमेगावाट लागत २१ करोड ९३ लाख रुपैयाँ रहेको छ ।