काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँको गोंगबुबाट अवैध लागुऔषध खैरो हिरोइन र नगदसहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले टोखा नगरपालिका-९ मंगल टोलमा रहेको एउटा घरबाट लागुऔषध खैरो हिरोइन र नगदसहित कालीकोट नरहरिनाथ गाउँपालिका-२ का २४ वर्षीय धनबहादुर विष्टलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले गोंगबुको एक घरमा लागुऔषध कारोबार गरिरहेको अवस्थामा विष्टलाई नियन्त्रणमा लिइएको जानकारी दिए । उनका अनुसार निजसँगबाट खैरो हिरोइन ४५ दशमलव १८ ग्राम, विभिन्न कम्पनीका मोबाइल सात थान, नगद रु. ३५ हजार, डिजिटल तराजु एक थान बरामद गरिएको छ ।
पक्राउ परेका विष्टलाई प्रहरीले जिल्ला अदालत काठमाडौँबाट चार दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता भट्टराईले बताए ।

प्रतिक्रिया