काठमाडौ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा पूर्वराष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीको नाम मुस्लिम क्लस्टरबाट समावेश भएपछि यो विषय विवादित बनेको छ।
बरिष्ठ पत्रकार कसमस विश्वकर्माले सामाजिक सञ्जालमार्फत अन्सारीको कडा आलोचना गरेका छन्। उनले समानुपातिक व्यवस्थाको मर्ममाथि नै प्रश्न उठाउँदै लेखेका छन्, “मोहना अन्सारीले मुस्लिम महिलाको कोटामा समानुपातिक सांसद बन्नु भनेको मैले दलित कोटामा आँखा गाड्नुजस्तै हो। समानुपातिकको व्यवस्था हामी जस्ताका लागि होइन।”
विश्वकर्माले यो व्यवस्था पिछडिएका र आम मानिसका लागि बनाइएको तर एलिट वर्गका व्यक्तिहरूले यसको दुरुपयोग गरेको संकेत गरेका छन्।
रास्वपाको सूचीमा अन्सारीसँगै कलाकार, उद्यमी र सेलिब्रेटीहरूको नाम धेरै समावेश भएपछि पार्टीमाथि नै आलोचना बढेको छ। सूचीमा गायिका त्रिशला गुरुङ, पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ, गायक प्रकाश सपुत, अभिनेत्री रीमा विश्वकर्मा, उद्यमी विदुषी राणालगायतका नाम छन्। यसलाई लिएर सामाजिक सञ्जालमा पनि व्यापक टीकाटिप्पणी भइरहेको छ। कतिपयले यो सूचीले समानुपातिकको मूल मर्मलाई विपरीत गएको आरोप लगाएका छन्।
यता, मोहना अन्सारीले आफ्नो निर्णयको बचाउ गर्दै सामाजिक सञ्जालमा लामो स्टेटमेन्ट जारी गरेकी छिन्। उनले तीन दशक गैरराजनीतिक क्षेत्रबाट देशसेवा गरेको उल्लेख गर्दै वर्तमान संकटपूर्ण अवस्थामा रास्वपाको नेतृत्वमा परिवर्तन सम्भव भएको विश्वासका साथ समानुपातिकबाट संसद प्रवेश गर्ने निर्णय गरेको बताएकी छिन्।

प्रतिक्रिया