देउवालाई २५ केन्द्रीय सदस्यको ध्यानाकर्षण : ‘पार्टी फुट्न दिन्नँ’ भन्ने सन्देश

देउवालाई २५ केन्द्रीय सदस्यको ध्यानाकर्षण : ‘पार्टी फुट्न दिन्नँ’ भन्ने सन्देश


काठमाडौं । नेपाली कांग्रेसभित्रको महाधिवेशन विवादबीच निर्वाचनअगावै नियमित महाधिवेशन हुनुपर्ने अडान राख्दै आएको संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूको समूहले शुक्रबार बिहान सभापति शेरबहादुर देउवालाई भेटेर पार्टीको जारी विवाद समाधानका लागि ध्यानाकर्षण गराएको छ।
महाराजगञ्जस्थित देउवा निवासमा पुगेको उक्त समूहले पार्टी विभाजन नहोस् भन्ने आफ्नो चिन्ता व्यक्त गरेको थियो। भेटमा सभापति देउवाले पनि पार्टी विभाजन नहोस् र सबै मिलेर अघि बढ्नुपर्ने आफूले चाहेको बताएका छन्।
समूहकी सदस्य तथा केन्द्रीय सदस्य डा डिला संग्रौलाले सभापतिसँग विवाद समाधान र पार्टी निकासका लागि छलफल भएको जानकारी दिइन्। उनका अनुसार समूहले आजै  महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि छलफल गर्ने तयारी गरेको छ।
‘पहिला पनि हामीले चुनावपछि महाधिवेशन र चुनावअघि विशेष महाधिवेशन भन्ने मतहरूलाई मिलाउने भूमिका खेलेका थियौं,’ संग्रौलाले भनिन्, ‘पछि चुनावअघि नियमित महाधिवेशन गर्ने सर्वसम्मत निर्णय भएको थियो। अहिले पनि त्यही भूमिकामा छौं।’
उनले सभापतिसँग पार्टी निकास दिन र विभाजनतर्फ नजान आग्रह गरेको बताइन्। देउवाले ‘विभाजन नहोस्, मिलेर जाऔं भन्ने म नै चाहन्छु’ भनेको उनको भनाइ छ।
यसअघि १६ पुसका लागि तय भएको वडा अधिवेशन प्रभावित भएपछि महामन्त्रीद्वय थापा र शर्माले बिहीबार विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशन स्थगित गरेको घोषणा गरेका थिए। उनीहरूले विशेष महाधिवेशनको विकल्प मात्र बाँकी रहेको बताउँदै पुस २७–२८ का लागि भृकुटीमण्डपको हलसमेत बुकिङ गरिसकेका छन्।
महामन्त्रीहरूको यो कदमलाई संस्थापन पक्षले विधानविपरीत र व्यक्तिगत निर्णय भनेको छ। यसैबीच कांग्रेसले शुक्रबार दिउँसो ३ बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ, जसमा विवादको निकास खोजिने अपेक्षा गरिएको छ।