काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकअघि दुवै पक्ष आन्तरिक छलफलमा जुटेका छन्।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नियमित महाधिवेशन स्थगन भएको भन्दै संयुक्त वक्तव्य जारी गर्दै विशेष महाधिवेशनको बाटोमा अघि बढेपछि आज कार्यसम्पादन समिति बैठक बस्न लागेको हो।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।
त्यसअघि रणनीति बनाउन दुवै पक्षका नेताहरू छलफलमा जुटेका हुन्। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा संस्थापन पक्षका शीर्ष नेताहरूसँग छलफल जारी रहेको एक नेताले बताए।
यता विशेष महाधिवेशनका लागि हिजो हल बुक गरेर धुलिखेल लागेका महामन्त्री थापा पनि काठमाडौँ फर्किएर आफूनिकटका नेताहरूसँग निरन्तर छलफल गरिरहेका छन्।
आजै विशेष महाधिवेशन पक्षधरले पत्रकार सम्मेलन गर्दै अब काँग्रेससँग विशेष महाधिवेशनबाहेक अन्य कुनै विकल्पमा नरहेको अडान सुनाएका छन्।
महामन्त्रीहरू विशेष महाधिवेशनको बाटोमा अघि बढेपछि सभापति शेरबहादुर देउवाले पनि सक्रियता बढाएका छन्। उनी कार्यवाहक सभापति खड्का, नेता रमेश लेखकसहित आफूनिकट नेताहरूसँग निरन्तर संवादमा छन्।

प्रतिक्रिया