काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको विषयलाई लिएर विवाद चर्किँदै गएपछि नेता डा। शेखर कोइरालाले आफू निकट नेताहरूसँग छलफल गरेका छन्। काठमाडौंमा उपलब्ध पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापति लगायतसँग विशालनगरस्थित शेखर कोइरालाको सम्पर्क कार्यालयमा छलफल गरिएको हो। छलफलमा पार्टीभित्र देखिएको वर्तमान संकटको समुचित निकास के हुन सक्छ भन्नेबारे कोइरालाले नेताहरूको सुझाव मागेका थिए।
कोइराला सचिवालयका अनुसार बैठकमा राष्ट्रमा देखिएको संकटको समाधान र पार्टीभित्रको द्वन्द्वलाई कसरी सुरक्षित अवतरण गराउने भन्ने विषयमा विस्तृत छलफल भएको थियो। साथै, हिजो बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको निर्णय र महामन्त्रीहरूले अघि सारेको विशेष महाधिवेशनको प्रस्तावबारे पनि विचार विमर्श भएको जनाइएको छ। बैठकमा पार्टीभित्र देखिएको विवाद समाधान गरी दुवै पक्षलाई एक सूत्रमा ल्याउने सम्भावित उपाय र विकल्पबारे छलफल गरिएको थियो।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी वैशाखमा महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेपछि पनि महामन्त्रीद्वयले विशेष महाधिवेशनको अडान नछाडेको अवस्थामा कोइरालाले मध्यमार्गी निकास खोज्ने प्रयासस्वरूप आफ्ना निकट नेताहरूसँग छलफल गरेका हुन्।

प्रतिक्रिया