काठमाडौ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टी एकता जोगाउन सभापति शेरबहादुर देउवासँग संवाद र सहमतिको वातावरण बनाउन दबाब बढाएका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनको विवाद चर्किरहेका बेला कोइरालाले देउवासँगको भेटमा पार्टी विभाजन रोक्न पहल गर्न आग्रह गरेका हुन् ।
बिहीबार महाराजगञ्जस्थित देउवा निवास पुगेर कोइरालाले भने, “म कोइराला हुँ, पार्टी विभाजन भएको हेर्न सक्दिनँ । विभाजनको पीडा तपाईंले पनि भोग्नुभएकै हो । के–के गर्नुपर्छ गरौं, विभाजन रोकौं ।” उनले आफ्नो व्यक्तिगत महत्वाकांक्षाभन्दा कांग्रेसको सग्लो एकता महत्वपूर्ण रहेको बताउँदै देउवालाई भने, “म भोलि सभापति बनुला वा नबनुला, तपाईंले सहयोग गर्नुहोला वा नहोला । त्योभन्दा महत्वपूर्ण कांग्रेसको एकता हो । एकता जोगाउन तपाईंले पहल लिनुस् ।”
कोइरालाले महामन्त्रीद्वयले विशेष महाधिवेशन आह्वान गरिसकेको अवस्थामा सबै पक्षको सम्मान हुनेगरी समाधान खोज्न देउवाको ध्यानाकर्षण गराए । उनले भृकुटीमण्डपमा बोलाइएको विशेष महाधिवेशनलाई नै संकल्प सभामा परिणत गरेर निकास खोज्न सुझाव दिए । “विधानतः समयमै महाधिवेशन हुनुपर्छ भन्नेमा म सधैं उभिएको छु । अहिले चुनावलगायत चुनौतीका कारण पार्टी समस्यामा छ । यस्तो बेला उहाँहरूले बोलाएकै भेलालाई साझा मञ्च बनाएर एकता जोगाउन तयार हुनुपर्छ,” कोइरालाको भनाइ छ ।
जवाफमा सभापति देउवाले पछिल्लो परिस्थितिप्रति आफू चिन्तित रहेको बताउँदै सबैसँग संवाद गर्न तयार रहेको धारणा राखे । कोइरालाले महामन्त्रीद्वयसँग संवाद गरी समाधानको विकल्प खोज्न देउवामाथि थप दबाब बढाएका छन् ।
आजै दिउँसो २ बजेपछि उपसभापति धनराज गुरुङ तथा सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारसहित कोइरालाले पुनः देउवासँग छलफल गर्ने कार्यक्रम छ । कांग्रेसमा विशेष महाधिवेशनको विवादले पार्टी फुटको जोखिम बढेका बेला कोइरालाको यो पहलले सहमतिको सम्भावना बढाएको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया