काठमाडौ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि प्रचार–प्रसार गर्न समय तोकेको फागुन ४ गते अगाडि नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा सातै प्रदेशमा पुग्ने भएका छन् पार्टीका प्रदेशभित्रका जिल्ला सभापति, प्रतिनिधिसभा उम्मेदवार तथा नेता–कार्यकर्तासँग छलफल, संवाद र पार्टीको अवस्था मूल्यांकन गर्न यो भ्रमण तय भएको हो।
पार्टी उपसभापति पुष्पा भुसालले भनिन्, “सभापति थापा र उपसभापति शर्मा फागुन ४ गतेभित्र सातै प्रदेश पुगेर जिल्ला सभापति, उम्मेदवार र कार्यकर्तासँग अन्तरक्रिया गर्दै हुनुहुन्छ। यो क्रम मधेस प्रदेशबाट सुरु भइसकेको छ र शुक्रबार गण्डकी प्रदेशमा जाने कार्यक्रम तय भएको छ।” उपसभापति शर्मा निर्वाचन परिचालन समितिका संयोजक समेत हुन्। सभापति थापा सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन्। उनी माघ १२ गते मधेस प्रदेश झरेर माघ १७ गते काठमाडौँ फर्किएका थिए। मधेस बसाइका क्रममा उनले प्रदेशका आठवटै जिल्लाका पार्टी सभापति, ३२ निर्वाचन क्षेत्रका उम्मेदवार तथा नेता–कार्यकर्तासँग निर्वाचन तयारीबारे संवाद गरेका थिए।
उपसभापति भुसालका अनुसार, “सभापतिज्यूले मधेस प्रदेशमा आठवटै जिल्लाका नेतृत्व र उम्मेदवारहरूसँग बसेर निर्वाचन तयारीबारे छलफल गर्नुभयो। अब गण्डकी प्रदेशमा पार्टीको अवस्थाबारे छलफल गर्न भोलि पोखरा जाँदै हुनुहुन्छ। त्यहाँ पार्टी उम्मेदवार, जिल्ला सभापति तथा कार्यकर्तासँग संवाद हुन्छ।” यो भ्रमणले पार्टी संगठनलाई चुस्त बनाउने, उम्मेदवारहरूको मनोबल बढाउने र निर्वाचन अभियानलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको छ। निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि फागुन ४ गतेदेखि १८ गतेसम्म प्रचार–प्रसारको समय तोकेको छ। फागुन २१ गते मतदान हुँदैछ।

प्रतिक्रिया