निर्वाचन सफल पार्न सरकारले सबै शक्ति लगाएको छ : प्रधानमन्त्री

निर्वाचन सफल पार्न सरकारले सबै शक्ति लगाएको छ : प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सफल बनाउन सरकारले सबै शक्ति लगाएको बताएकी छन् ।

शुक्रवार सशस्त्र प्रहरी प्रधान कार्यालयमा आयोजित सशस्त्रको २५ औँ स्थापना दिवस तथा रजत महोत्सव समारोहमा प्रधानमन्त्री कार्कीले भनिन्, ‘निर्वाचन सफल पार्न सरकारले सबै शक्ति लगाएको छ ।’

निर्वाचनमा एक थोपा पनि रगत बग्नु नहुने र कोही पनि घाइते नभइकन निर्वाचन सम्पन्न हुनुपर्ने कार्कीले बताइन् । उनले भनिन्, ‘चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन, कोही पनि घाइते हुनु हुँदैन ।’

कठिन भौगोलिक अवस्था र प्रतिकुल परिस्थितिमा पनि राष्ट्र सेवामा सक्रिय रहनु सशस्त्रको पहिचान रहेको प्रधानमन्त्रीले बताइन् । विगतको निर्वाचनमा जस्तै आसन्न निर्वाचनमा पनि सम्भावित सुरक्षा चुनौतीको विश्लेषण गरेर काम गर्न प्रधानमन्त्री कार्कीले सशस्त्र प्रहरीका सकलदर्जालाई निर्देशन दिइन् ।

उनले भनिन्, ‘बदलिँदो सुरक्षा चुनौतीलाई ध्यानमा राखेर यो सङ्गठनलाई थप व्यावसायिक बनाउन जरुरी छ ।’