कपिलवस्तु । कपिलवस्तु क्षेत्र नं ३ मा रोचक चुनावी माहोल छ । नेपाली कांग्रेसबाट एकल उम्मेदवार सिफारिस पूर्वसांसद वीरेन्द्र कनोडिया उम्मेदवार मनोनयनको केही दिनअघि नेकपा एमाले प्रवेश गरेर चुनावी दौडमा छन् भने नेपाली कांग्रेसबाट यसअघि पनि उम्मेदवार बनेका अभिषेकप्रताप शाह चुनावी दौडमा छन् । चारदशक नेपाली कांग्रेसमा बिताएका कनोडिया एमालेको बलियो सांगठनिक आधार भएको क्षेत्रमा उम्मेदवार बनेर यसअघिका आफ्नै सहकर्मी शाहसँग प्रतिस्पर्धामा छन् ।
यसअघि एउटै पार्टीमा रहेका कनोडिया र शाहबीचको बलियो प्रतिस्पर्धामा मनोनयकै दिन राप्रपा छाडेर रास्वपा छिरेका प्रकाश रजौरिया मुख्य चुनौती बनेका हुन् । तर उनी अन्तिम समयसम्म नेकपा एमालेसँग टिकट बार्गेनिङ गरेका कारण बढी आलोचित भएका थिए । पुरानै परिचित अनुहारको दल फेरेर मैदानमा गएका कारण यहाँको निर्वाचनले चुनावी माहोल बढी पेचिलो बनेको हो । कपिलवस्तु–३ का चन्द्रौटा, कृष्णनगर, विजयनगरलगायतका गल्लीहरू, चिया पसलमा चलिरहेका राजनीतिक बहस, गाउँ–टोलमा बढ्दो भेटघाट र घरदैलो अभियानले यहाँको चुनाबी माहोल तातेको शिवराज–११ का नरेन्द्र थारु बताउँछन् ।
स्थानीय मतदाताले उम्मेदवारको प्रतिस्पर्धा मात्र नभई दल फेरबदल, नयाँ राजनीतिक शक्तिको उदय र साना दलको मत कति संरक्षण हुन्छन् वा ती दलका उम्मेदवारले तान्न सक्छन् भन्ने विषयले नतिजा प्रभावित हुने स्थानीयको भनाइ छ । तीनै दलका उम्मेदवारले आफ्नो जित हुने दाबी गरिरहेका बेला जटिल चुनावी अंकगणितले अन्योल बढाएको हो ।
तीन निर्वाचन क्षेत्र रहेको यहाँ सबैभन्दा धेरै उम्मेदवार छन् भने मतदाता चैँ अन्य दुई निर्वाचन क्षेत्रको भन्दा कम छन् । दलका १३ र २३ स्वतन्त्रसहित ३६ प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रतिस्प्रर्धामा रहेको यो क्षेत्रमा १ लाख १८ हजार ४ सय ४ मतदाता छन् ।
यो क्षेत्रको विभिन्न क्षेत्रमा पुग्दा मुख्य प्रतिस्पर्धाको केन्द्रमा रहेका एमालेका उम्मेदवार कनौडिया र कांग्रेसका शाह देखिएको स्थानीय बताउँछन् । २०६३ सालदेखि तराई केन्द्रित दलबाट राजनीतिमा प्रवेश गरेका शाह २०७४ मा कांग्रेस प्रवेश गरेका हुन् । कांग्रेस प्रवेश गर्नुअघि उनी फोरमको सहमहामन्त्री थिए । २०६३ मा प्रतिनिधिसभा सदस्य मनोनीत उनी २०६४ र २०७० मा मधेशी जनअधिकार फोरमबाट संविधानसभा सदस्य पदमा निर्वाचित भएका थिए ।
एमालेका उम्मेदवार कनोडिया विगतमा कांग्रेसकै प्रभावशाली नेता हुन् । कांग्रेसबाट तत्कालीन जिल्ला विकास उपसभापति, संविधान सभा सदस्य र लुम्बिनी प्रदेशसभा सदस्य निर्वाचित भएर संसदीय दलको नेता भएका कनोडिया अहिले एमालेबाट उम्मेदवार बनेपछि एमालेले यहाँ जित सुनिश्चित भएको दाबी गरिरहेको छ । उनी माघ ६ गते उम्मेदवारी दर्ता हुनुभन्दा दुई दिनअघि मात्रै उनी एमालेमा प्रवेश गरेका थिए ।
प्रदेशसभामा निर्वाचित भइसकेका उनी अन्तिम समयमा एमाले प्रवेश गरेपछि यो क्षेत्रको राजनीतिले फरक मोड लिएको हो । उनी आफैँले एमालेमा संगठित संरचनाले आफूलाई निर्वाचनमा धेरै सहज भएको जनाएका छन् । अहिले पनि उनी प्रभावशाली नेताका रुपमा प्रतिस्पर्धामा रहेको स्थानीयको भनाइ छ । सबैतिर चर्चामा रहेको रास्वपाको बाहिरी माहोल यो क्षेत्रमा पनि उस्तै छ । तर अन्तिम समयमा राप्रपा छाडेर रास्वपाका पुगेपछि उनी पनि अरु दलजस्तै अवसरवादी भएको स्थानीयले जनाएका छन् । रास्वपाबाट उम्मेदवार बनेका प्रकाश रजौरिया विगतमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चुनाव लडेका नेता हुन् ।
रजौरियाको भदौ २३ गते भएको जेन्जी आन्दोलनक्रममा भएको विध्वंसकारी घटनामा संग्लन रहेको भिडियो सार्वजनिक गरेर विपक्षीहरुले आरोप लगाएर मसला बनाएका छन् । राप्रपाबाट २०७९ को निर्वाचनमा राम्रो मत ल्याएका र अहिले रास्वपाको मत जोडिँदा उनी बलियो प्रतिस्पर्धी भएको उनका समर्थक मतदाता निकटस्थ उमाकान्त घिमिरेले बताए । यो क्षेत्रको चुनावी गणितमा साना दलहरूको मत र उनीहरुको अलिकति समर्थन कता हुने भन्ने पनि उस्तै चासो रहेको उनले जनाए । जनता प्रगतिशील पार्टी, जनमत पार्टी लगायतका दलहरूले यसअघि गणनीय मत पाएकाले ती मत कता खस्छन् भन्नेले अर्थ राख्ने उनको विश्लेषण छ । तमलोपाबाट संविधानसभा सदस्य बनेका ईश्वर दयाल मिश्र त्यसअघि २०४९ को स्थानीय निर्वाचनमा कांग्रेसबाट गाविस अध्यक्ष निर्वाचित भएका थिए ।
२०७० मा एमालेको चुनाव चिन्ह लिएर र २०७४ मा जनता प्रगतिशील पार्टीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचन लडेका थिए । यसपालि राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी (चकिया)बाट चुनावमा उत्रिएका छन् । उनी राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा चुनावी मैदानमा रहेकाले उनको मत पनि गणनीय अंकमा आउने स्थानीयको आकलन छ । धेरै दलका स्थानीय क्षेत्रमा प्रभावशाली उम्मेदवार रहेकाले अहिलेको अगाडि भन्ने समस्या भएको तर दलीय आधारमा एमालेका कनाडिया बलियो रहेको एमालेका नेता नेत्र अधिकारीको विश्लेषण छ । ‘म वीरेन्द्रजीको उम्मेदवारी निश्चित नहुँदै उम्मेदवार आकांक्षी थिएँ तर पार्टीले उहाँको पक्षमा निर्णय गरेपछि म नै निर्वाचन कमान्डर बनेको छु, स्थानीय क्षेत्रमा बलियो संगठनको आधार र उम्मेदवार आफैँ क्षमता भएकाले धेरै सहज छ,’ उनले भने ।
तत्कालीन माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को सहकार्यबाट बनेको नेपाली कम्युनिष्ट पार्टीबाट एहसान अहमद खाँ उम्मेदवार छन् । उनी २०७९ मा लुम्बिनी प्रदेश सभामा पराजित भएका थिए । २०७४ मा बहुजन शक्तिबाट कपिलवस्तु–३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका थिए । त्यसबेला पराजय भोगेपछि उनले अर्को पार्टीमा लागे पनि २०७६ मा नेकपा माओवादीमा प्रवेश गरेका थिए । उता गत निर्वाचनमा समानुपातिकमा दोस्रो भएको राप्रपाबाट प्रेम शंकर शुक्ल मैदानमा छन् ।
चुनावी घरदैलोमा भेटिएका कांग्रेस उम्मेदवार अभिषेक शाहले अहिले पार्टीको नयाँ नेतृत्वसँगै देशव्यापी माहोल फेरिएकाले आफ्नो जित सहज भएको जनाए । कनोडियाको प्रचारमा हिँडेका मिठु बिकले सहजै रुपमा एमालेको जित्ने दाबी गरिन् । उनी कनोडिया सबै धर्म, समुदाय र भूगोलवासीसँग परिचित भएकाले सबैको मन जितेको दाबी गर्छन् । ‘म लामो समय नेपाली कांग्रेसमा काम गरेँ, ४ दशक नै, त्यहाँ एमालेमा जस्तो सांगठनिक संरचना नै छैन, सबै अराजकता छ, निर्वाचनमा एक्लै भिड्ने हो, अहिले एमालेमा आउँदा धेरै आनन्द भएको छ,’ उनले भने ।
रास्वपा उम्मेदवार रजौरियाले आफू लामो यस क्षेत्रको भूगोलको राजनीति गरेको र अहिले सबैतिर रास्वपाको माहोल भएकाले पनि आफ्नो जित सहज भएको दाबी गरेका छन् । नेताहरुको राजनीतिक कित्ता परिवर्तन र यो पटक दलीय गठबन्धनविरुद्ध एकल उम्मेदवारी भएकाले पनि दलहरुको वास्तविक परीक्षण हुने सोही क्षेत्रमा बस्ने अर्जुन श्रेष्ठ बताउँछन् ।
२०७९ को समानुपातिक मत परिणामअनुसार नेकपा एमाले १६ हजार २ सय ७२, राष्ट्रिय प्रजातन्त्र पार्टी १० हजार ७ सय ६०, नेपाली कांग्रेस ९ हजार ३ सय ९४, जनमत पार्टी ८ हजार ८ सय १९, जनता प्रगतिशील पार्टी नेपाल ८ हजार ५ सय १५, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ५ हजार ४ सय १२, तत्कालीन नेकपा माओवादी केन्द्र ३ हजार ५ सय २७, राष्ट्रिय स्वतन्त्र पार्टी २ हजार ८ सय ५९ र नागरिक उन्मुक्ति पार्टीले १ हजार ७ सय ७ मत ल्याएका थिए ।

प्रतिक्रिया