सिसबनी।
डाक्टर शेखर कोइराला ले क्षेत्रीय सभालाई सम्बोधन गर्दै सरकारी अस्पतालको सेवा विस्तार, कलेज स्थापना र सुकुम्बासी समस्या समाधानका लागि ठोस पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
उहाँले स्थानीय सरकारी अस्पतालमा अझै सुधार गर्नुपर्ने आवश्यकता औंल्याउँदै विशेषगरी ल्याब र रगत परीक्षण सेवामा समस्या रहेको बताउनुभयो। “सामान्य परीक्षणका लागि पनि बिरामीले बाहिर जानुपर्ने अवस्था अन्त्य गर्नुपर्छ,” उहाँले भन्नुभयो, “आधुनिक ल्याब र रगत जाँचको पूर्ण व्यवस्था मिलाउने काम अब प्राथमिकतामा पर्छ।”
स्वास्थ्य सेवाकै सन्दर्भमा उहाँले आफ्नी आमाले सञ्चालन गरिरहेको संस्थामार्फत भुरिगङ्गाका हरेक वडामा मासिक रूपमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको उल्लेख गर्नुभयो। ती शिविरमा उपलब्ध सेवा–सुविधा अन्य धेरै स्थानमा समेत सहज रूपमा नपाइने दाबी उहाँको थियो। आगामी दिनमा यस्तो सेवामूलक कार्यलाई अझ व्यवस्थित र व्यापक बनाइने उहाँले बताउनुभयो।
शिक्षातर्फ संकेत गर्दै डा. कोइरालाले स्थानीयस्तरमै कलेज स्थापना गर्न पहल गर्ने घोषणा गर्नुभयो। हाल विद्यार्थीहरू उच्च शिक्षाका लागि विराटनगर जान बाध्य रहेको उल्लेख गर्दै उहाँले आर्थिक अवस्था कमजोर भएका परिवारका लागि यो ठूलो समस्या भएको बताउनुभयो। “अब हाम्रो छोराछोरीले पढ्नका लागि घर छोड्नुपर्ने अवस्था अन्त्य गर्नुपर्छ,” उहाँले भन्नुभयो।
सभामा उपस्थित सुकुम्बासी समुदायलाई सम्बोधन गर्दै उहाँले सुकुम्बासी समस्या देशव्यापी भए पनि स्थानीयस्तरमा निष्पक्ष समाधानका लागि आफू अग्रसर हुने बताउनुभयो। सम्बन्धित आयोगका केन्द्रीय सदस्यलाई क्षेत्रमै ल्याएर पारदर्शी रूपमा लालपुर्जा वितरण प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।
विकास निर्माणका कामहरू जारी रहेको उल्लेख गर्दै उहाँले सडक, शिक्षा, स्वास्थ्य र खानेपानीजस्ता क्षेत्रमा भएका प्रगतिलाई निरन्तरता दिइने बताउनुभयो। साथै, महिलाहरूको उल्लेखनीय उपस्थितिलाई सकारात्मक संकेतका रूपमा व्याख्या गर्दै महिला उद्यमशीलता प्रवर्द्धनका लागि तालिम तथा सहयोग उपलब्ध गराइने जानकारी दिनुभयो।
उहाँले मतदातालाई प्रत्यक्ष र समानुपातिक दुवै तर्फ नेपाली कांग्रेसको रुख चिन्हमा मतदान गर्न आग्रह गर्नुभएको थियो। सभा उत्साहपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ।

प्रतिक्रिया