सिंहदरबारमा नयाँ संसद चैत १ सम्म हस्तान्तरण

सिंहदरबारमा नयाँ संसद चैत १ सम्म हस्तान्तरण


काठमाडौं । संघीय संसद् सचिवालयले निर्माणाधीन नयाँ संसद् भवनलाई चाँडै सञ्चालनमा ल्याउने तयारी तीव्र पारेको छ । संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार, गत सोमबार मुख्यसचिव सुमनराज अर्याल, संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय लगायत उच्च अधिकारीहरूले सिंहदरबारस्थित नयाँ भवनको अवलोकन गरेका थिए । अवलोकनपछि जसरी भए पनि चैतको पहिलो सातासम्म बैठक हल उपलब्ध गराउन निर्देशन दिइएको गिरीले बताए । ‘चैतको पहिलो सातासम्म अनिवार्य रूपमा भवन दिन आग्रह गरिएको छ,’ उनले भने । सरकारले चैत १ गतेसम्म प्रतिनिधिसभाको बैठक कक्षसहित ६ वटा मुख्य भवन हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको पनि उनले उल्लेख गरे । यो नयाँ संसद् भवन सिंहदरबारको पुतली बगैंचामा निर्माणाधीन छ । यस क्षेत्रमा राजनीतिक दलहरूका लागि संसदीय दल कार्यालयहरू पनि नजिकै राखिएका छन् । संसद् सचिवालय, राष्ट्रिय सभा र प्रतिनिधिसभाका संरचना एकै ठाउँमा व्यवस्थित छन् ।
भवनको मध्य भागमा भीभीआईपी प्रवेशद्वार छ भने छेउमा कर्मचारी तथा अन्यका लागि प्रवेशद्वार । मुख्य गेटबाट प्रवेश गरेपछि प्लाजा पुगिन्छ, जसको एकातिर संसद् सचिवालय र अर्कोतिर प्रतिनिधिसभाको हल छ । पछिल्लो भागमा एकातिर संसदीय दल कार्यालय र अर्कोतिर राष्ट्रिय सभा रहेको छ ।
प्रतिनिधिसभा बैठक कक्षमा कुल ७०० सिट क्षमता छ — मुख्य हलमा ४०० र बाल्कोनीमा ३०० । राष्ट्रिय सभाको बाल्कोनीमा २९० सिट क्षमता छ । संयुक्त लबीमा ३५० सिट अट्छ ।
साना–ठूला गरी १० वटा राजनीतिक दलका लागि संसदीय दल कार्यालय तथा बैठक कक्ष निर्माण भएका छन् । प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, दलका प्रमुख सचेतक लगायतलाई अति विशिष्ट कक्ष तयार छन् । हरेक कार्यकक्षमा २५ सिट क्षमताको बैठक हलको व्यवस्था छ ।
परिसरमा पुस्तकालय, क्यान्टिन, बगैंचा र सानो चौर पनि रहनेछ । प्रेस तथा छपाइ भवनसहित ७०० वटा सवारी साधन पार्किङ गर्ने पूर्वाधार, सुरक्षाकर्मीका भवनहरू निर्माण भएका छन् । पानीको फोहोर व्यवस्थापनसहित हरियाली खुला क्षेत्र पनि समावेश छ ।