शेखर कोइरालाको परिपक्व राजनीतिक सन्देश – रुविनालाई साथ, मतदातालाई धन्यवाद

शेखर कोइरालाको परिपक्व राजनीतिक सन्देश – रुविनालाई साथ, मतदातालाई धन्यवाद

निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सफल सबै सरोकारवालालाई प्रति आभार


काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता डा  शेखर कोइरालाले मोरङ क्षेत्र नं  ६ बाट प्रतिनिधिसभा निर्वाचनमा पराजय स्वीकार गर्दै विजयी उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रुविना आचार्यलाई बधाई दिएका छन् । फागुन २१ गते सम्पन्न निर्वाचनपछि जारी मतगणनामा रुविना आचार्यले भारी मतान्तरले जित हासिल गरेकी थिइन् । आफ्नो विज्ञप्तिमा डा  कोइरालाले लोकतान्त्रिक निर्वाचनलाई जित–हारभन्दा माथि उठेर संस्कार र संस्कृतिको विकास गर्ने पद्धति भएको उल्लेख गर्दै आफ्नो पार्टी नेपाली कांग्रेसले यसलाई सधैं आत्मसात् गर्दै आएको बताएका छन् । उनले नेपालको एकता, अखण्डता र सार्वभौमिकताको रक्षा लोकतान्त्रिक पद्धतिबाट जनताको भरोसा जितेको सरकारले मात्र गर्न सक्ने धारणा राखे ।

उनले निर्वाचनमा विजयी भएका सक्षम तथा योग्य युवा उम्मेदवारहरूलाई बधाई दिँदै उनीहरू राष्ट्रको परिवर्तनका वाहक भएको र भावी संसदमा नीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा व्यक्त गरे । विशेष गरी मोरङ–६ बाट अत्यधिक बहुमतले विजयी भएकी रुविना आचार्यलाई उनले हार्दिक बधाई दिएका छन् । ‘उहाँले आफ्नो कार्यकालमा क्षेत्रका जनताको सेवा, सुधार र समृद्धिमा गर्ने काममा मेरो साथ र समर्थन रहनेछ,’ उनले भनेका छन् । डा  कोइरालाले मोरङ–६ का मतदातालाई आफ्नो मत दिएर विश्वास र भरोसा गरेकोमा अन्तःकरणबाट धन्यवाद दिएका छन् । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सफल भएकामा प्रशासन, सुरक्षा निकाय तथा सबै सरोकारवालालाई पनि उनले आभार व्यक्त गरे ।

अन्तमा उनले लामो समयदेखि यस क्षेत्रबाट निर्वाचित गराउँदै आएका मतदातासँगको अटुट सम्बन्ध र प्रेममा पराजयले कुनै फरक नपार्ने स्पष्ट पारेका छन् । ‘मेरो यस क्षेत्रसँगको सम्बन्धमा रत्तिभर पनि आँच आउन दिनेछैन,’ उनले विश्वास दिलाएका छन् । यो विज्ञप्तिले डा  शेखर कोइरालाको परिपक्व राजनीतिक संस्कारलाई झल्काउँछ । मोरङ–६ मा रुविना आचार्यले ५५ हजार ५१३ मत प्राप्त गरी विजयी भएकी थिइन् भने डा कोइरालाले १२ हजार ८५० मत मात्र प्राप्त गरेका थिए ।