काठमाडौं । जेनजी प्रदर्शन (भदौ २३ र २४) मा भएको गोलीकाण्ड र उच्छृङ्खल गतिविधिबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङलाई पनि फौजदारी मुद्दा चलाउन सिफारिस गरेको छ । आयोगले आइतबार प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउँदै खापुङलाई फौजदारी कानुनअनुसार अनुसन्धान गरी अभियोजन गर्नुपर्ने राय दिएको हो ।
प्रहरीले लेथल हतियार प्रयोग गरी अधिक बल प्रयोग गरेको घटनामा खापुङले नै गोली चलाउने आदेश दिएको आयोगको निष्कर्ष छ । फिल्डमा खटिएका प्रहरी अधिकृतहरूका अनुसार, भदौ २३ मा करिब १ बजेतिर खापुङले वाकीटकीबाट ‘संसद् भवन घेरिसकेका छन्, के हेरेको ? गोली चलाउ’ भन्दै आदेश दिएका थिए । यसैकारण प्रदर्शनकारीहरू आक्रोशित भएर भोलिपल्ट (भदौ २४) ठूलो विध्वंस मच्चाएको आयोगको विश्लेषण छ ।
आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (प्रजिअ) छविलाल रिजाललाई पनि फौजदारी मुद्दा चलाउन सिफारिस गरेको छ । जिल्ला सुरक्षा समितिका अन्य पदाधिकारीहरूलाई भने विभागीय कारबाही गर्न सिफारिस गरिएको आयोगका एक सदस्यले बताएका छन् ।
गृह मन्त्रालयको तथ्यांकअनुसार भदौ २३ र २४ मा गोली लागेर ३९ जनाको ज्यान गएको थियो भने कुल ७६ जनाको मृत्यु भएको थियो । गोली लागेर ज्यान गुमाएका ३४ जनाको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिएको थियो ।
आयोगको प्रतिवेदनले अधिक बल प्रयोग, मानवअधिकार उल्लंघन र घटनाको जिम्मेवारीलाई स्पष्ट रूपमा औंल्याएको छ । अब सरकारले प्रतिवेदन अध्ययन गरी सिफारिस कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया