सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया बालिका इनिशा विकका बुबा घर आइपुगेका छन् । रोजगारीको सिलसिलामा दुबईमा रहेका इन्द्रबहादुर विक छोरीको हत्या भएको खबर पाएपछि गएराति नै घर आइपुगेका हुन् । उनले छोरीको योजनाबद्ध रूपमा हत्या भएको दाबी गर्दै न्याय नपाएसम्म शव नबुझ्ने बताए । घटनास्थलमा पुगेका उनले भने, ‘पार्कबाट घना जंगलतिर लगेर विभिन्न सामान देखाएर फकाई मेरो छोरीको हत्या गरिएको देखिन्छ । मेरो छोरीले न्याय नपाएसम्म म शव बुझ्दिनँ ।’ यही २३ फागुनमा इनिशा वीरेन्द्रनगर( ४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन् । प्रहरीले उनलाई कर्णाली प्रदेश अस्पताल पुर्याएको थियो । तर, उनलाई अस्पतालले मृत घोषणा गरेको थियो । अस्पतालको पोस्टमार्टम रिपोर्टअनुसार इनिशाको अत्यधिक रक्तश्रापका कारण मृत्यु भएको देखिएको छ ।
घटनास्थलबाट पक्राउ परेका १६ वर्षीय बालकले इनिशासँग शारीरिक सम्बन्ध राखेको र त्यसपश्चात् रक्तश्राप भई बेहोस भएको बयान दिएका छन् । प्रहरीले अनुसन्धानका लागि थप तीन बालकलाई प्रकाउ गरेर सूक्ष्म अनुसन्धान गरिरहेको छ । पीडित परिवारले चार जनाको सामूहिक बलात्कारपछि हत्या गरेको भन्दै आन्दोलित बनेपछि थप अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोली खटिएको छ ।

प्रतिक्रिया