काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा सिकार खेल्न गएका सुर्खेतका पाँच युवक सम्पर्कविहीन भएका छन्। गत फागुन २३ गते सिकारका लागि निकुञ्जतर्फ गएका उनीहरू घर नफर्किएपछि परिवारजनले प्रहरीलाई खबर गरेका हुन्।जिल्ला प्रहरी कार्यालय सुर्खेत का प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापा का अनुसार बराहताल गाउँपालिका–२ का आसे महतराले आइतबार बेलुका करिब ५ बजेतिर उनीहरू हराएको जानकारी प्रहरीलाई दिएका थिए।
प्रहरीका अनुसार सम्पर्कविहीन हुनेमा बराहताल गाउँपालिका–१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली र लेकवेशी नगरपालिका–८ गंगटे घर भई हाल बर्दियामा बस्दै आएका ४५ वर्षीय दुर्गाबहादुर सिजाली रहेका छन्। उनीहरू गाउँबाट करिब १७ किलोमिटर दक्षिणतर्फ पर्ने निकुञ्ज क्षेत्रतर्फ सिकार खेल्न गएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।
सम्पर्कविहीन भएका युवाहरूको खोजीका लागि निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र आसपासका प्रहरी एकाइसँग समन्वय गरेर खोजी कार्य अघि बढाइएको डीएसपी बुढथापाले बताए।

प्रतिक्रिया